काठमाडौं । आज सोमबार सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहने छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ भने आज राती देशभर मौसम मुख्यतया सफा रहने छ ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको पनि महाशाखाले जनाएको छ ।
त्यस्तै, कार्तिक ४ गते पनि यस्तै मौसम रहँदै पहाडी क्षेत्रमा आंशिक बदली र अन्य स्थानमा सफा मौसम रहनेछ।
कार्तिक ५ गते गोवर्धन पूजाका अवसरमा पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने र कोशी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
भाइटीका अर्थात् कार्तिक ६ गते देशका अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहने भए पनि कोशी, मधेश र अन्य पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ। साथै, सबै प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
तिहारका दिनहरूमा सामान्य बदली र हल्का वर्षाको सम्भावना रहेपनि समग्रमा मौसम मनमोहक रहने अनुमान महाशाखाले गरेको छ ।
प्रतिक्रिया दिनुहोस