विराटनगर । मोरङको बुढिगंगा गाउँपालिकामा सञ्चालनमा रहेको बहुराष्ट्रिय कम्पनी आरती स्ट्रीप्स प्रा.लि. हाल संकटमा परेको छ । करिब २३ वर्षअघि स्थापना भएको यो उद्योगले पछिल्ला महिनाहरूमा उत्पादन कटौती गर्नुका साथै श्रमिक संख्यामा समेत कटौती गर्न थालेको छ ।
सन् २००१ मा करिब ७ अर्ब रुपैयाँको लगानीमा स्थापना भएको आरती स्ट्रीप्सले सन् २००२ देखि जस्तापाता, कर्कटपाता र पाइप उत्पादन गर्दै आएको हो । उद्योगको कुल उत्पादनमध्ये ९० प्रतिशत सामग्री भारत निर्यात हुँदै आएको थियो । तर हाल भारत सरकारले लागू गरेको नयाँ गुणस्तर प्रमाणीकरण नीतिका कारण निर्यात अवरुद्ध भएको जनाईएको छ ।
भारतको ब्युरो अफ स्ट्यान्डड्र्स (बीअएसआई) ले हालै चिनियाँ कच्चा पदार्थबाट बनेका सामग्रीलाई गुणस्तर प्रमाणपत्र नदिने निर्णय गरेको छ । भारतले अबदेखि स्वदेशी कच्चा पदार्थबाट बनेका उत्पादनलाई मात्र प्रमाणीकरण दिने नीति लागू गरेपछि आरती स्ट्रीप्सको निर्यात प्रभावित भएको हो । यसले गर्दा उद्योगको उत्पादन र बिक्री दुवै ठप्प भएको छ ।
विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठका अनुसार, निर्यात अवरुद्ध भएपछि कम्पनीले अधिकांश उत्पादन बन्द गरिसकेको छ र ठूलो संख्यामा मजदुरहरूलाई कामबाट हटाएको छ । यसबारे श्रम तथा रोजगार विभागमा औपचारिक जानकारी पनि दिइसकेको बताइएको छ ।
आर्थिक वर्ष २०७९/८० मा कम्पनीले १४५४ करोड रुपैयाँको बिक्री गरेको थियो, जसमा ७३७ करोड रुपैयाँ बराबरको सामान भारत निर्यात गरिएको गरेको थियो । आगामी वर्षका लागि २००० करोड रुपैयाँको बिक्री लक्ष्य राखिएको भए पनि नयाँ नीति र उद्योगमैत्री बजेटको अभावका कारण उत्पादन विस्तारको योजना कार्यान्वयन हुन सकेको छैन् ।
पछिल्लो जानकारी अनुसार, कम्पनीले नेपालमा रहेको सम्पूर्ण लगानी फिर्ता लिने प्रक्रिया सुरु गरिसकेको छ । उद्योगमा प्रयोग हुँदै आएका मेशिनरी र उपकरणहरू समेत फिर्ता लैजाने तयारी भइरहेको छ । तर, यस विषयमा कम्पनीले हालसम्म कुनै औपचारिक सार्वजनिक अभिव्यक्ति दिएको छैन ।
प्रतिक्रिया दिनुहोस