काठमाडौं । विपिन जोशीको शव नेपाल ल्याइएको छ । इजरायलमा मारिएका विपिनको शव आज (सोमबार) दिउसो मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो ।
उनको शव रहेको कफिनमा नेपाली झण्डा ओढाइएको छ । उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू लगायत विमानस्थल पुगेका थिए ।
उनी अध्ययनको सिलसिलामा इजरायल पुगेका थिए । हमासको आक्रमण हुनुभन्दा तीन हप्ताअघि मात्र कृषि तालिमका लागि इजरायल पुगेका थिए ।

कञ्चनपुरका २२ वर्षीय विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए ।
हमासले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा सम्पन्न युद्धविराम सम्झौताको एक अङ्गका रूपमा सबै २० जना जीवित बन्धक रिहा गरेको थियो । त्यससँगै विपिनसहित चार शव फिर्ता गरेको थियो ।
उनको शव आजै कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित उनको घरमा लगिने छ । कञ्चनपुरमै उनको अन्तिम दाह संस्कार गरिने बताइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयाेजित श्रद्धाञ्जली अर्पणको कार्यक्रममा विपिनको पार्थिव शरीरमा प्रधानमन्त्रीसहितका उच्च पदस्थहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् ।






प्रतिक्रिया दिनुहोस