काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) का अध्यक्ष युवराज अधिकारीको कार्यकाल दोहोर्याउने चाहना लगभग अन्त्य भएको छ।
चार वर्षे कार्यकालमा नेवानिलाई 'दुहुनो गाई' बनाएर भ्रष्ट छविका रूपमा चिनिएका तथा विवादित अधिकारीले, जेनजी आन्दोलनपछि बनेको सरकारसँग विभिन्न च्यानलमार्फत कार्यकाल दोहोर्याउन लबिङ गरेका थिए।
यही कात्तिक ११ गतेदेखि कार्यकाल सकिन लागेका उनले अख्तियारका एक उच्च तहका कर्मचारी हुँदै शुशिला कार्की नेतृत्वको मन्त्रिपरिषद्का एक मन्त्रीमार्फत प्रधानमन्त्रीसम्म लबिङ गरेका थिए।
तर, प्रधानमन्त्री शुशिला कार्कीले मन्त्रीकै प्रस्ताव ठाडै अस्वीकार गर्दै, भ्रष्ट छविका व्यक्तिलाई कुनै हालतमा पनि पुनः नियुक्त नगर्ने अडान लिएपछि मन्त्री समेत पछि हटेपछि युवराज अधिकारीको पुनः अध्यक्ष बन्ने सम्भावना समाप्त भएको स्रोतले जनाएको छ।
अधिकारीको कार्यकालमा नेवानि अत्यन्तै 'अक्षम' र भ्रष्ट संस्थाका रूपमा बदनाम बनेको थियो। उनीमाथि जहाज मर्मत सम्भारमा आर्थिक अनियमितता, करारमा आफन्तको नियुक्ति, ट्राभल एजेन्सीसँग मिलेमतो लगायतका आरोप छन्।
उनीविरुद्ध ठूलो आर्थिक घोटालासम्बन्धी उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको छ र त्यसको छानबिन अख्तियारले गरिरहेको छ।
युवराज अधिकारीलाई चार वर्षअघि शेरबहादुर देउवा प्रधानमन्त्री र प्रेमबहादुर आले पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेका बेला नियुक्त गरिएको थियो।
प्रतिक्रिया दिनुहोस