काठमाडौं । प्रदर्शनअघि नै विवादमा तानिएको चलचित्र ‘मास्टर्नी’ ले नयाँ चुनौती सामना गरिरहेको छ । चलचित्रको प्रचारका लागि सार्वजनिक गरिएको पोस्टरले दर्शकमाझ उत्साहभन्दा बढी विरोध निम्त्याएपछि सामाजिक सञ्जालमा ‘बाइकट मास्टनी’ अभियान नै चल्न थालेको छ ।
यसअघि चलचित्रको प्रचार गीत ‘मास्टर्नी’ शिक्षक समुदायप्रति अपमानजनक र द्विअर्थी रहेको आरोप लागेपछि चर्को विवादमा परेको थियो । व्यापक आलोचनापछि गायिका तथा अभिनेत्री प्रियंका कार्की र गायक दुर्गेश थापा ले सार्वजनिक रूपमा माफी माग्दै उक्त गीत युट्युबबाट हटाएका थिए ।
प्रयोगकर्ताहरूले एकातिर शिक्षक पात्रलाई सम्मानजनक रूपमा प्रस्तुत गरिएको पोस्टर र अर्कोतर्फ प्रियंका कार्कीले दुर्गेश थापाको काँधमा खुट्टा राखेको दृश्य रहेको पोस्टर राख्दै ‘अरू देशमा मास्टर्नीको परिचय यस्तो, नेपालमा यस्तो’ भन्दै कटाक्ष गरिरहेका छन्।
त्यसपछि बिहीबार प्रियंका कार्कीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत चलचित्रका दुई नयाँ पोस्टर सार्वजनिक गर्दै भदौमा प्रदर्शनमा आउने जानकारी दिएकी थिइन् । उनले केही दिनमै टिजर सार्वजनिक हुने र भदौ ९ गतेदेखि देशभरका सिनेमाघरमा चलचित्र प्रदर्शन हुने उल्लेख गरेकी थिइन् ।
तर पोस्टर सार्वजनिक भएको केही समयमै सामाजिक सञ्जालमा विरोधको बाढी आयो । उनको पोस्टमा हजारौं प्रतिक्रिया आउँदा अधिकांशले चलचित्र बहिष्कार गर्ने चेतावनी दिएका छन्। धेरै प्रयोगकर्ताले ‘गीतले नै फिल्मको सोच देखाइसकेको छ, अब हलमा गएर हेर्ने होइन, बहिष्कार गर्ने हो’ भन्ने आशयका टिप्पणी गरेका छन्।
विवादित गीत हटाएर क्षति न्यूनीकरण गर्ने प्रयास गरिए पनि दर्शकको असन्तुष्टि भने कम भएको देखिएको छैन। सामाजिक सञ्जालमा ‘बाइकट मास्टनीर्’ ह्यासट्यागसहित चलचित्रविरुद्ध अभियान नै चल्न थालेपछि निर्माण टिम थप दबाबमा परेको चर्चा छ ।
शिक्षकको छविमाथि आँच पुर्याउने सामग्री रहेको आरोप लगाउँदै नेपाल शिक्षक महासंघ ले समेत यसअघि गीतको विरोध गरेको थियो। त्यसपछि निर्माण पक्षले माफी मागे पनि दर्शकको धारणा परिवर्तन गराउन भने सफल देखिएको छैन ।
यसैबीच सामाजिक सञ्जालमा भारतीय चलचित्र ‘मेडम गिता रानी’ को पोस्टरसँग ‘मास्टर्नी’को पोस्टर तुलना गर्दै पनि व्यंग्य भइरहेको छ । प्रयोगकर्ताहरूले एकातिर शिक्षक पात्रलाई सम्मानजनक रूपमा प्रस्तुत गरिएको पोस्टर र अर्कोतर्फ प्रियंका कार्कीले दुर्गेश थापाको काँधमा खुट्टा राखेको दृश्य रहेको पोस्टर राख्दै ‘अरू देशमा मास्टर्नीको परिचय यस्तो, नेपालमा यस्तो’ भन्दै कटाक्ष गरिरहेका छन्।
चलचित्रको टिजर अझै सार्वजनिक हुन बाँकी रहेकाले निर्माण टिमले त्यसबाट दर्शकको धारणा बदल्ने अपेक्षा गरेको हुन सक्छ। तर अहिले देखिएको सामाजिक सञ्जालको प्रतिक्रिया हेर्दा ‘मास्टर्नी’ रिलिजअघि नै ठूलो जनमतको दबाबमा परेको देखिन्छ।
अब यो विरोध केवल सामाजिक सञ्जालमै सीमित हुन्छ वा बक्स अफिससम्म पुग्छ भन्ने प्रश्नको उत्तर भने चलचित्र प्रदर्शनपछि मात्रै स्पष्ट हुनेछ । तर फिल्म समिक्षकहरुले भने प्रियंकाको यो सिनेमाले पानी पिउन समेत नपाउने अवस्था सिर्जना भएको बताउछन् ।
प्रतिक्रिया दिनुहोस