२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

'सबै बन्द, खुल्ला छ त राजनीति'- पाण्डेको स्टाटसपछि सरकारी वृत्तमा हलचल

शनिवार , कार्तिक ८, २०८२

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछिको माहोलले आर्थिक क्षेत्रमा निराशा पैदा गरेको छ । आन्दोलनका क्रममा भएका आगजनी र तोडफोडले व्यवसायीहरु मात्र नभई आम नागरिक नै अन्योलतामा रहेका छन् । आन्दोलनपछि निजी क्षेत्रले जुन पीडा भोग्नुपर्यो त्यो अकल्पनीय नै छ ।

यसैबीच व्यवसायी तथा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सञ्चालक समितिका अध्यक्ष प्रवलजंग पाण्डेले देशको आर्थिक स्थिति र राजनीतिक वातावरणप्रति कडा टिप्पणी गर्दै सामाजिक सञ्जालमा लेखेको एक स्टाटसमा निजी क्षेत्रको वास्तविकता र देशको पछिल्लो अवस्था दर्शाएको छ ।

पाण्डेले आफ्नो स्टाटसमा देशका प्रमुख उद्योग, सेवा र पर्यटन क्षेत्रका संस्थाहरू बन्द भइरहेका बेला राजनीति मात्रै खुला रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनले लेखेका छन् :

“हायत होटल बन्द, हिल्टन होटल बन्द, पोखराका केही होटल बन्द, पर्यटक आगमन बन्द,

आधीभन्दा बढी भाटभटेनी स्टोर बन्द, चन्द्रागिरी केबलकार बन्द,

धेरै कलकारखाना माग कम भएर पहिल्यै बन्द,

३० ठूला उद्योगको विद्युत महसुल विवादका कारण प्राधिकरणले लाइन काटेर बन्द।

खुल्ला छ त केवल राजनीतिक दल दर्ता खुल्ला,

खुल्ला छ त दलमा कार्यकर्ता भर्ना खुल्ला,

खुल्ला छ त गाली र विरोध गर्ने मुख खुल्ला,

खुल्ला छ त व्यक्तिगत र सार्वजनिक सम्पत्ति जलाउने हात खुल्ला।”

उनको यो अभिव्यक्तिले मुलुकमा देखिएको आर्थिक मन्दी, औद्योगिक उत्पादनमा गिरावट र लगानीकर्ताको निराशा झल्किएको छ ।

व्यवसायी पाण्डेले ह्यात, हिल्टन लगायतका होटल बन्द भएकोबारे पनि चिन्ता व्यक्त गरेका हुन् । राजधानीको पाँचतारे होटल ह्यात रेजेन्सी अस्थायी रूपमा बन्द गरिएको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा होटल परिसरमा तोडफोड र आगजनीका कारण संरचनागत क्षति पुगेपछि होटल सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको भन्दै बन्द गरिएको हो ।

पाण्डेको स्टाटस र सञ्चारमाध्यममा आएका समाचारपछि ह्यात होटलबारे सरकारको ध्यानाकर्षण समेत भएको छ। शनिबार बिहान प्रधानमन्त्री सुशीला कार्कीले ह्यात होटलको सेवा बन्द र कर्मचारी प्रवेशमा गरिएको निषेधबारे चासो व्यक्त गरेकी छन् ।

प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले ह्यात रिजेन्सी व्यवस्थापनसँग शनिबार बिहान जानकारी लिएका छन् । अर्थमन्त्री खनालले ह्यात रिजेन्सी व्यवस्थापनसँग सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको बताए । उनले व्यवस्थापन पक्षलाई विचलित नभई सेवा सुचारु गर्न पनि आग्रह गरे ।

उद्योगी समुदायको भावना प्रतिबिम्बित

लामो समयदेखि उद्योग, उत्पादन र व्यापार क्षेत्रमा सक्रिय रहेका पाण्डेको यो कटाक्षले उद्योगी समुदायको भावना बोलेको छ । निजी क्षेत्रको पीडामाथि नेपाल विद्युत् प्राधिकरणको कदमले झनै पीडा थपेको छ । जसोतसो सञ्चालनमा रहेका उद्योगहरुको विद्युत् महशुल बक्यौता नबुझाएको भन्दै धमाधम लाइन काटिरहेको छ ।

लोमस फार्मास्युटिकल्स, कसमस सिमेन्ट र कैलास हेलिकप्टरसँग आबद्ध उनको अभिव्यक्तिमा उद्योगीहरूको वास्तविक अवस्था उजागर भएको छ ।

उद्योग वाणिज्य महासंघ रोजगारदाता परिषद्‍को पूवै उपसभापति समेत रहेका पाण्डे हालै बैंकिङ नेतृत्वमा पुगेका बेला यस्तो स्पष्ट र साहसी अभिव्यक्ति सार्वजनिक गर्नुले उनी देशको आर्थिक नीतिबारे कति गम्भीर छन् भन्ने स्पष्ट हुन्छ ।

पाण्डेको यो स्टाटस केवल व्यक्तिगत धारणा मात्र नभई मुलुकको वर्तमान वास्तविकताको प्रतीक बनेको व्यवसायीहरू बताउँछन्। एक उद्योगीले भने - “उनलले लेखेको कुरा त हाम्रो दैनिक पीडा हो। उत्पादन घटेको छ, माग छैन, कर र शुल्क बढ्दै छ र पनि यहाँ राजनीतिक खिचातानीमै जिम्मेवार व्यक्तिहरु सक्रिय भइरहेका छन्, जुन पीडादायी हो ।’

जेनजी आन्दोलनका क्रममा भाटभटेनी, चन्द्रागिरी केवलका, हिल्टन होटल, सिजी कम्पनी लगायत निजी क्षेत्रमा आगजनी र तोडफोड भएको थियो । जसको भार उद्योगीहरुले मात्र नभई देशले नै भोग्नुपरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट