२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

जाडो छल्न तालतलैयामा आउन थाले पाहुना चरा

आइतवार , कार्तिक ९, २०८२

कञ्चनपुर । जाडो छल्नका लागि साइवेरियालगायत क्षेत्रबाट कञ्चनपुर–कैलालीका सीमसार, नदी तथा तालतलैयामा हिउँदे पाहुना चरा पुग्ने क्रम सुरु भएको छ ।

उत्तरी क्षेत्रका हिमाल छिचोल्दै लामो दूरी तय गरेर पुग्न थालेका पाहुना चराका कारण सीमसार क्षेत्र र तालतलैयामा चहलपहल बढ्न थालेको छ । उत्तरी गोलाद्र्धमा अत्यधिक चिसो बढ्न थालेपछि प्रत्येक वर्ष पाहुना चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका तालतलैया, सीमसार क्षेत्रसँगै त्यसको बाह्य क्षेत्रमा रहेका नदी, तालतलैयामा बसाइँ सरेर आइपुग्ने गरेका छन् ।

वर्षा सकिएर चिसो मौसम सुरु भएपछि सिमसार क्षेत्रहरूमा साइवेरिया, कीर्गिस्तान, उत्तरी चीन, तिब्बत र मङ्गोलियालगायतका ठाउँबाट पाहुना चराहरू पुग्न थालेको नेपाल पन्छी संरक्षण सङ्घका वरिष्ठ चराविज्ञ हिरुलाल डगौराले बताए। “ती क्षेत्रमा माइनस डिग्री तापक्रम पुगेपछि चराहरू जाडो छल्नका यहाँका तालतलैया र सीमसार क्षेत्रमा प्रत्येक वर्ष पुग्ने गरेका छन्”, उनले भने ।

वरिष्ठ चराविज्ञ डगौराका अनुसार कञ्चनपुरको पुरैनी ताल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको सिकारी ताल, महाकाली र चौधर नदी, र कैलालीको घोडाघोडी ताल, वसन्ता जैविक मार्ग, कर्णाली नदी तथा डडेल्धुराको आलितालसम्म चराको आगमन सुरु भइसकेको छ । बसाइँ सारेर आउनेमा अधिकांशमा हाँस प्रजातिका चरासँगै अन्य जलपन्छी र फिस्टे चरा रहेका छन् ।

तालतलैया, नदी र सीमसार क्षेत्रमा मालक हाँस, खरखसे हाँस, हरियो टाउके हाँस, सिन्दुरे हाँस, कैले टाउके हाँससहित जीवल फिस्टो, डुबुल्के, लालकण्ठे, झेकझेक भ्रयाप्सी, खैरो भद्राई, मोटोठाँडे र ट्याकट्याकेलगायत प्रजाति देखिने गरेको चराविज्ञ डगौरा बताउँछन् ।

नेपालमा प्रत्येक वर्ष करिब एक सय बढी प्रजातिका चरा जाडो छल्नका बसाइँ सारेर आउने गरेका छन् । जसमा आधाभन्दा बढी हाँस प्रजातिका हुने गरेका छन् । कञ्चनपुर र कैलालीका तालतलैयामा मात्र करिब ३० देखि ५० प्रजातिका पाहुना चरा नियमित रूपमा आउने गर्छन् ।

पछिल्ला केही वर्षमा बसाइँ सर्ने चराको सङ्ख्या घट्दो क्रममा रहेको चराविज्ञ डगौराको भनाइ छ । सीमसार क्षेत्रमा मानव अतिक्रमणसँगै प्राकृतिक तालतालैया माछापालनको कार्य हुन थालेपछि पछिल्ला वर्षहरूमा बसाइँ सारेर आउने पाहुना चराको सङ्ख्यामा गिरावट आउन थालेको उनले बताए।

चराविज्ञ डगौराका अनुसार चराको दीर्घकालीन संरक्षणका लागि सीमसार क्षेत्रको व्यवस्थापन, जनचेतना अभिवृद्धि र स्थानीय समुदायको सहभागिता आवश्यक रहेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट