काठमाडौं। अर्थमन्त्री रामेश्वर खनालले भदौ २३ र २४ गते जेनजीको आन्दोलनका क्रममा भएको क्षति बीमा र वित्तीय प्रणालीले नसमेट्ने अवस्थामा सरकारले व्यहोर्ने बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघ ९नाफिज०ले असोज आयोजना गरेको ‘अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो’ विषयक अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन बुझ्दै अर्थमन्त्री खनालले यस्तो बताएका हुन् ।
‘कतिपय बजार प्रक्रियाबाटै व्यवस्थित हुन्छ। पुनर्निर्माण गर्नका निमित्त ऋण लगानीको प्रबन्ध गरिएको छ,’ खनालले भने, ‘भुक्तानी गर्न ऋणको म्याद थपिएको छ। बीमा गरेका कतिपयको त्यहाँबाट कभर हुन्छ। बीमा, बैंक तथा वित्तीय प्रणालीले पनि कभर गर्न नसक्ने खालको क्षतिबापत चाहिँ सरकारले केही व्यवस्थापन गर्नुपर्छ भनेर हामीले बोलिरहेकै छौं।’
हाल क्षतिको आधिकारिक तथ्यांक सरकारले संकलन गरिरहेको उनले बताएका छन् । क्षतिको विवरण आएपछि व्यवसायीलाई सरकारबाट आवश्यक सहयोग हुने मन्त्री खनालको भनाइ छ ।
‘व्यवसायीले गुमाएको सम्पत्ति पुनर्स्थापना गर्न सरकारले अनुदान दिने कि सफ्ट लोन भन्नेबारेमा हामी छलफलमै छौं। त्यो काम अहिलेको सरकारले आफ्नो कार्यकालभित्रै गर्छ।’
प्रतिक्रिया दिनुहोस