विराटनगर । विश्वप्रसिद्ध प्रेरणादायी वक्ता तथा लोकप्रिय टेलिभिजन कार्यक्रम ‘अवेकिङ विथ ब्रह्माकुमारीज’की चर्चित प्रवक्ता सिस्टर शिवानी पहिलोपटक विराटनगर आउन लागेको जनाइएको छ ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, विराटनगरको आयोजनामा यहि कात्तिक १४ गते शुक्रबार विराटनगरको जैन भवनमा हुन लागेको विशेष प्रवचन कार्यक्रममा सहभागिता जनाउन सिस्टर शिवानी विराटनगर आउन लागेको केन्द्रले जानकारी दिएको छ । उक्त कार्यक्रममा शिवानीले ‘नयाँ शुरुआतका लागि सकारात्मक सोच’ विषयमा प्रवचन दिने कार्यक्रम रहेको आयोजक संस्थाले जनाएको छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रकी क्षेत्रीय प्रमुख ब्रह्माकुमारी गिती दिदीले सिस्टर शिवानीको आगमनले विराटनगर र आसपास क्षेत्रका नागरिकलाई लाभ पुर्याउने विश्वास व्यक्त गरिन् । उनका अनुसार तनाव, निराशा र नकारात्मक सोचले ग्रस्त भइरहेका मानिसहरूका लागि यो प्रवचन नयाँ ऊर्जा र सकारात्मक सोचको प्रेरणा बन्नेछ ।
सिस्टर शिवानी ब्रह्माकुमारी संस्थाकी वरिष्ठ राजयोग शिक्षिका तथा अन्तर्राष्ट्रिय स्तरकी ख्यातिप्राप्त वक्ता हुन् । उनले विश्वका विभिन्न देशहरूमा आयोजित प्रवचनमार्फत लाखौँ मानिसलाई मानसिक शान्ति, आत्म–शक्ति र सकारात्मक जीवनदृष्टिको मार्ग देखाउँदै आएको जनाइएको छ ।

टेलिभिजन कार्यक्रम ‘अवेकिङ विथ ब्रह्माकुमारीज’ मार्फत उनले विश्वभरका दर्शकहरूलाई प्रेरणा दिँदै आएको सेवा केन्द्रले जानकारी दिएको छ । सिस्टर शिवानीलाई संयुक्त राष्ट्रसंघलगायतका अन्तर्राष्ट्रिय संस्थाहरूले ‘स्पिरिट अफ ह्युम्यानिटी अवार्ड’ सहितका अनेक सम्मानहरू प्रदान गरेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगरका विनोद भाईजीले सिस्टर शिवानी विगत लामो समयदेखि विश्वका विभिन्न देशमा प्रेरणादायी प्रवचन गर्दै आएको बताए । उनका अनुसार सिस्टर शिवानी सन् २०१७ मा काठमाडौंमा प्रवचनका लागि नेपाल आएकी थियो, र त्यसयता यो पहिलोपटक विराटनगर भ्रमण हुन लागेको हो ।
कार्यक्रमका क्रममा ब्रह्माकुमारी संस्थाकी नेपाल निर्देशक राज दादी माँ, सह–निर्देशक किरण दिदी तथा १० सदस्यीय केन्द्रीय प्रतिनिधिमण्डलको पनि सहभागिता रहनेछ ।
मोरङ उद्योग व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ कोशी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सहकार्यमा आयोजना हुन लागेको कार्यक्रममा समाजका विभिन्न वर्गका करिब २५ सय व्यक्तिहरूको उपस्थितिको अपेक्षा आयोजकको रहेको छ । कार्यक्रममा विशेष गरी उद्योगी व्यवसायीहरुको सहभागिता रहने जनाइएको छ ।
उद्योगी महेश जाजुले पछिल्लो समयमा उत्पन्न परिस्थितिले गर्दा उद्योगी व्यवसायीहरु तनावमा रहेका कारण पनि सकारात्मक सोँचको विकास गर्नको लागि यस्तो कार्यक्रमको आवश्यकता रहेको बताए । उनले भने, ‘यो कार्यक्रम पश्चात तनावमुक्त भएर नयाँ सोचाईकासाथ अगाडि बढ्नका लागि सहज हुने अपेक्षा छ’ ।
प्रतिक्रिया दिनुहोस