काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले सत्ता टिकाउनको लागि प्रधानमन्त्रीले सीमा विवाद समाधानका लागि बेलायतको संलग्नताको प्रसंग उठाएको टिप्पणी गरेका छन् ।
शुक्रबार काठमाडौंमा एमाले बागमती प्रदेश संगठन कमिटीको बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष थापाले वर्तमान नेतृत्वप्रति भारत असन्तुष्ट देखिएकाले सत्ता टिकाउनको लागि प्रधानमन्त्रीले सीमा विवाद मिलाउनको बेलायतको संलग्नताको प्रसंग उठाएको टिप्पणी गरेका हुन् ।
उनले रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणका क्रममा भएको स्वागतको राजनीतिक अर्थ ठूलो रहेको बताए । अहिलेको विद्यमान नेतृत्वसित भारत सन्तुष्ट नरहेको र अरू कसैलाई नेतृत्व स्थापना गर्न मद्दत गर्न चाहेको जस्तो देखिएको उनको भनाइ छ ।
उपाध्यक्ष थापाले भाद्र २३ र २४ गते भएको घटना कुनै क्रान्ति नभइ प्रतिगमन भएको धारणा राखे । अहिलेको सरकार स्थापीत भएदेखि नै स्वैच्छाचारिता र अधिनायकवाद लागू गर्न खोजेको उनको भनाइ छ । त्यस्तै उपाध्यक्ष थापाले जनतामा भ्रम छेरेर रास्वपाले विजय प्राप्त गरेको भन्दै उक्त भ्रम धेरै दिन नटिक्ने उल्लेख गरे ।
उनले पार्टीभित्रका कमीकमजोरीहरुलाई सच्चाएर आगामी दिनमा बिजय हासिल गर्ने योजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस