काठमाडौं । गत भदौ २४ गते 'जेनजी' आन्दोलनको क्रममा राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट नगद र सुन लुटपाट भएको थियो ।
संसद् भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकबाट ३८ करोड रुपैयाँभन्दा बढीको नगद र गरगहना लुटपाट भएको बैंकका अधिकारी र प्रहरीले बताएका छन्। जसमध्ये हालसम्म ३२ लाख बराबरको सम्पत्ति मात्रै बरामद भएको प्रहरीले जनाएको छ।
हालसम्म चोरिएको सुनमध्ये करिब ७०० ग्राम मात्रै बरामद भएको छ। उक्त गरगहना बैंकबाट कर्जा लिनेहरूले धरौटी स्वरूप राखेका हुन्, जुन भदौ २४ को प्रदर्शनका क्रममा लुटिएको थियो।
बाँकी सुन भेटिएन भने के हुन्छ ?
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी निर्देशक देवेन्द्ररमण खनाललाई उदृत गर्दै बीबीसी नेपालीले ग्राहकले जमानतमा राखेको गरगहना बापतको क्षतिपूर्ति दिने तयारी भइरहेको उल्लेख गरेको छ ।
खनालका अनुसार ग्राहकहरुलाई सुन नै दिन नसके पनि त्यस बराबरको नगद दिने तयारी भएको छ । त्यसका लागि एउटा समिति पनि बनेको छ ।
यसरी क्षतिपूर्ति दिन लागिएको पहिलो पटक भने होइन । यसअघि माओवादी सशस्त्र द्वन्द्वका क्रममा पनि कतिपय बैंकहरू लुटिएका थिए। त्यसबेला पनि बैंकहरुले जिम्मा लिएर राखेका ग्राहकका गरगहना र नगदको क्षतिपूर्ति दिइएको खनालले बीबीसीलाई बताएका छन् ।
क्षतिपूर्ति रकम भने अहिलेको बजारभाउ अनुसार दिने वा धितो राख्दा कायम गरिएको मूल्याङ्कन अनुसार दिने भन्ने टुङ्गो लाग्न बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस