काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले हालको आर्थिक चुनौतीलाई अवसरको रूपमा उपयोग गर्दै उद्योगी–व्यवसायीलाई उच्च मनोबल र नयाँ सोचका साथ अघि बढ्न आग्रह गरेका छन्।
शनिबार नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उनले ‘जेन–जी आन्दोलन’ पछि उत्पन्न परिस्थितिलाई अवसरका रूपमा लिएर नयाँ व्यवसाय सिर्जना गर्नुपर्नेमा जोड दिए। “नयाँ बिजनेस बनाउनुस्, उच्च मनोबलका साथ काम गर्नुस्,” उनले भने, “अहिले वैधानिक सरकार छ, चाँडै जननिर्वाचित सरकार आउँछ। यो अवसरलाई सकारात्मक रूपमा लिनुहोस्।”
गभर्नर पौडेलले नेपालमा देखिएको चुनौतीलाई अस्थायी ‘दुर्घटना’को रूपमा लिँदै त्यसबाट व्यवसाय सुधारको सम्भावना देखिएको बताए। “हामी नेपालीहरू सारा विश्वभर छौं। त्यो भावना लिएर काम गर्नुभयो भने अर्थतन्त्र माथि जान्छ,” उनले भने, “तपाईंहरूमा समस्या छन्, तर निराश नहुनुहोस्। सरकारको सन्देश पनि त्यही हो—उच्च मनोबल राखौँ।”
उनले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन कालोसूचीलाई ठूलो बाधकको रूपमा उल्लेख गर्दै त्यसको समाधानमा सम्बन्धित पक्षले ध्यान दिनुपर्ने बताए। अहिले चेक बाउन्सका कारण कालोसूचीमा पर्नेहरूको संख्या बढेको र यसले आर्थिक गतिविधिमा दबाब सिर्जना गरेको उनको भनाइ थियो।
गभर्नर पौडेलले प्रविधिको विकासले व्यवसायको स्वरूप परिवर्तन गरिरहेको बताउँदै परम्परागत व्यवसायहरूले पनि नयाँ शैली अपनाउनुपर्ने सुझाव दिए। उनले भने, “सार्वजनिक निकायले खर्च बढाउनुपर्छ, गतिविधि नै कम भयो भने अर्थतन्त्रले छलाङ मार्न सक्दैन।”
उनका अनुसार नेपाल राष्ट्र बैंकले सबै क्षेत्रमा आर्थिक गतिविधि सुचारु राख्न र समस्या समाधानका लागि प्रयास गरिरहेको छ। उनले निजी क्षेत्र, सार्वजनिक निकाय र प्रविधिको सन्तुलित उपयोगमार्फत आर्थिक वृद्धि सम्भव हुने उल्लेख गर्दै भने, “मनोबल नै अर्थतन्त्रको सबैभन्दा ठूलो ऊर्जा हो—त्यो उच्च राखौँ र अघि बढौँ।”
प्रतिक्रिया दिनुहोस