आइतवार , कार्तिक २३, २०८२
Shares
Shares
काठमाडाैं । नेपालमा नवीकरणीय ऊर्जा क्षेत्रमा विगत २२ वर्षदेखि अग्रणी भूमिका निर्वाह गर्दै आएको अपि पावर कम्पनी लिमिटेडले अब आफ्नै केन्द्रीय कार्यालय भवन ‘अपि टावर’ निर्माणको प्रक्रिया सुरु गरेको छ । कम्पनीले काठमाडौं उपत्यकाको मुटुमा पर्ने नयाँबानेश्वरमा २० आना जग्गा खरिद गरी भवन निर्माणको सिलान्यास गरेको हो ।
अपि टावर दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । शुक्रबार सम्पन्न सिलान्यास कार्यक्रममा कम्पनीकी अध्यक्ष सिर्जना खड्काले भवनलाई कम्पनीको ऐतिहासिक उपलब्धि भन्दै यसले “अपि पावरको संस्थागत पहिचानलाई अझ मजबुत बनाउने” बताइन्।
नवीकरणीय ऊर्जामा दुई दशकको यात्रा
वि.सं. २०५९ मा स्थापना भएको अपि पावर कम्पनी अहिले नेपालका निजी ऊर्जा उत्पादक कम्पनीहरूमध्ये अग्रपंक्तिमा रहेको छ। कम्पनीले हालसम्म ५६.५ मेगावाट जलविद्युत र ६ मेगावाट सौर्य विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिसकेको छ। कम्पनीले आफ्नो पहिलो ठूलो सफलता दार्चुलाको ८.५ मेगावाट नौगड गाढ जलविद्युत आयोजना केवल १७ महिनामा सम्पन्न गरेर देखाएको थियो — जसले नेपालका दुर्गम क्षेत्रहरूमा बिजुली पुर्याउने ऐतिहासिक काम गरेको थियो।
विस्तार र विविधीकरणको दिशा
हाल कम्पनीले दार्चुलामा ८ मेगावाटको अप्पर नौगड गाढ र ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। यसबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडेर नेपाल विद्युत प्राधिकरणलाई बिक्री हुँदै आएको छ।
त्यस्तै कम्पनीले ऊर्जा मिश्रणको सरकारी नीतिअनुसार सौर्य ऊर्जा क्षेत्रमा पनि उल्लेखनीय लगानी गरेको छ। कम्पनीका चन्द्रनिगाहपुर (४ मे.वा.), ढल्केबर (१ मे.वा.) र सिमरा (१ मे.वा.) सौर्य आयोजना सञ्चालनमा छन् भने परवानीपुर (८ मे.वा.) सौर्य आयोजना निर्माणाधीन अवस्थामा छ।
लगानी र सहायक कम्पनीहरू
अपि पावरले जलविद्युत क्षेत्रमा लगानी विस्तार गर्दै विभिन्न कम्पनीहरूमा साझेदारी गरेको छ।
कम्पनीको २५ प्रतिशत लगानी रहेको ९.७ मेगावाट माथिल्लो इङ्गवा खोला जलविद्युत आयोजना (पाँचथर) संचालनमा छ, जसको शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत छ।
त्यसैगरी कम्पनीले ५९.६७ प्रतिशत शेयर खरिद गरी नियन्त्रणमा लिएको सूर्यकुण्ड हाईड्रोइलेक्ट्रिक लिमिटेड बाट नुवाकोटको ११ मेगावाट माथिल्लो तादी खोला आयोजना सफलतापूर्वक सञ्चालनमा ल्याएको छ, र अब यस कम्पनीको शेयर पनि सर्वसाधारणका लागि सार्वजनिक निष्कासन (IPO)को अन्तिम तयारीमा छ।
अपि पावरले दार्चुला पावर लिमिटेडको बहुमत शेयर खरिद गरी २८.३०४ मेगावाटको मध्य चमेलिया जलविद्युत आयोजना निर्माण गरिरहेको छ, जुन २० महिनाभित्र सम्पन्न हुने लक्ष्य छ।
त्यसका अतिरिक्त कम्पनीले नुवाकोटको त्रिशुली गल्छी (३० मे.वा.) र दार्चुलाको न्वागाढ (९.७ मे.वा.) जलविद्युत आयोजनाको सर्वेक्षण गरिरहेको छ।
अपि टावर : संस्थागत सुदृढीकरणको प्रतीक
कम्पनीले आफ्नो २१औं वार्षिक साधारण सभाको निर्णयअनुसार नयाँबानेश्वरमा अपि टावर निर्माण गर्ने निर्णय गरेको हो। भवनमा अपि पावर कम्पनी र यसको सहायक कम्पनीहरूका कार्यालय रहनेछन्।
कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेले भने, “अपि टावर केवल भवन होइन, यो हाम्रो लगानीकर्ताहरूको साझा सम्पत्ति हो — जसले कम्पनीमा पारदर्शिता, स्थायित्व र विश्वासको नयाँ अध्याय सुरु गर्नेछ।”
उनका अनुसार यो भवन आफ्नै लगानीमा बन्ने निजी ऊर्जा उत्पादक कम्पनीहरूमध्ये दुर्लभ उदाहरण हो।
कम्पनीका अधिकारीहरूका अनुसार अपि पावरले आगामी वर्षहरूमा जलविद्युत र सौर्य दुवै क्षेत्रमा आफ्नो लगानी विस्तार गर्ने योजना बनाएको छ।
अध्यक्ष सिर्जना खड्का भन्छिन्, “हाम्रो लक्ष्य केवल विद्युत उत्पादनमा सीमित छैन, हामी दीगो ऊर्जा प्रवर्द्धन, लगानीकर्ताको हित सुरक्षा र देशको ऊर्जा आत्मनिर्भरता सुनिश्चित गर्न प्रतिबद्ध छौं।”
लगानीकर्ता समुदायका प्रतिनिधिहरूले पनि अपि पावरको निरन्तर विस्तार र पारदर्शी वित्तीय अभ्यासले बजारमा कम्पनीप्रति विश्वास बढाएको बताएका छन्।
Be the first to comment!
सम्पर्क : ०१- ४१०२६६४
समाचारको लागी इमेल :
[email protected]
विज्ञापनका लागि इमेल :
[email protected]
सुनौलो नेपाल अनलाइन प्रा. लि.
अनामनगर काठमाडौँ, नेपाल
सूचना विभाग दर्ता नम्बर: ५४३/०७४-७५
सम्पर्क : ०१- ४१०२६६४
विज्ञापनका लागि : ९८५१४२००७७, ९८५१४०३८९९
प्रतिक्रिया दिनुहोस