२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

बुटवलमा ३ अर्ब ५० करोडको लगानीमा पहिलो पाँचतारे होटल ‘ह्यात प्लेस’ सञ्चालनमा

सोमवार , कार्तिक २४, २०८२

रुपन्देही। लुम्बिनी प्रदेशको आर्थिक केन्द्र र औद्योगिक नगर बुटवलमा ३ अर्ब ५० करोड रुपैयाँ लगानीमा पाँचतारे होटल ह्यात प्लेस सञ्चालनमा आएको छ।

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि २५ कट्ठा क्षेत्रफलमा बनेको १० तले भवनमा १०९ कोठासहित होटल सञ्चालनमा आएको हो। यो बुटवलको पहिलो पाँचतारे र क्षेत्रकै सबैभन्दा ठूलो होटल मानिएको छ।

सुरुमा होटल सेफ्रोन नाममा निर्माण सुरु भए पनि अन्तर्राष्ट्रिय होटल चेन ह्यात प्लेसको ब्रान्ड अन्तर्गत सञ्चालनमा आएको हो। ह्यात ब्रान्ड सन् २००६ मा स्थापना भई हाल संसारभर ४२० भन्दा बढी स्थानमा फैलिएको छ।

यो होटलमा व्यवसायीहरू चुन्नुप्रसाद पौडेल, कमलकिशोर मालपानी, नरिश्वर शर्मा पौडेल, भूमिराज पौडेल, श्रवण बेरिवाल र रेखा मालपानी गरी ६ जनाको संयुक्त लगानी छ। होटलको कुल लगानीमध्ये ६५ प्रतिशत बैंक ऋण र ३५ प्रतिशत सञ्चालकको निजी लगानी रहेको संचालक चुन्नुप्रसाद पौडेलले बताए।

होटलमा ६ विभिन्न श्रेणीका १०९ कोठा रहेका छन् र एकैपटक २५० पाहुनाको बसाइ सम्भव छ। होटलको डिजाइनमा शान्ति, आधुनिकता र परम्पराको फ्युजन समेटिएको छ भने सबै कोठा क्याजुअल कम्फर्टका लागि विशेष तयार गरिएको छ।

बोधी वृक्षको पातको आकृति होटलका संरचनामा राखिएको छ भने डेढ सय क्षमताको अल–डे–डाइनिङ रेस्टुरेन्टमा मायादेवी मन्दिरको ईंटाको बनावट झल्किने डिजाइन छ। लबीमा चार विशेष वास्तुकला स्तम्भ राखिएको छ जसले बुद्ध दर्शनका चार आर्य सत्य झल्काउँछन्।

होटलमा पाहुनाका लागि जिङ बार, १,१०० वर्गमिटर बलरुम, तीन हल, फिटनेस सेन्टर, किड्स प्ले जोन, स्पा, ज्याकुजी, पर्याप्त पार्किङ सुविधा उपलब्ध छ।

सञ्चालक पौडेलका अनुसार, छिमेकी भारत उत्तर प्रदेशका पर्यटकहरूलाई लक्षित गर्दै डिजाइन गरिएको हो। निकट भविष्यमा क्यासिनो सञ्चालन गर्ने योजना पनि रहेको छ।

होटलले पूर्ण सञ्चालनमा आएपछि ३५० जनालाई रोजगारी दिनेछ र स्थानीयलाई प्राथमिकता दिइने संचालक नरिश्वर शर्माले बताए।

होटलको औपचारिक उद्घाटन २५ नोभेम्बरमा हुने भएको छ। निर्माणकै क्रममा होटलको पश्चिमतर्फको कुसुम पथमा करिब ३ सय मिटर सार्वजनिक सडक पक्की र सौन्दर्यीकरण गरिएको छ, जसमा करिब ४० लाख रुपैयाँ निजी लगानी भएको संचालक भूमिराज पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट