काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले देशमा कालोसूचीमा राखिएका उद्यमीको संख्या अस्वभाविक रूपमा बढी भएको बताएका छन्।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा शुक्रबार सम्बोधन गर्दै गभर्नर पौडेलले झन्डै १० लाख उद्यमी भएको देशमा डेढ लाख भन्दा बढी उद्यमी कालोसूचीमा राखिनु अस्वभाविक भएको उल्लेख गरे।
उनले भने, “कालोसूचीमा राखिएको कारणले कर्जा लिन चाहनेहरूको संख्या घट्न सक्छ, यसबारे राष्ट्र बैंकले छलफल सुरु गरेको छ। चेक बाउन्सलाई अत्यधिक अपराधीकरण गर्नु उपयुक्त छैन।”
गभर्नर पौडेलले बैंकहरूलाई कर्जा नोक्सानीको समस्या समाधान गर्न र व्यवसायमा लगानी बढाउन पनि आग्रह गर्दै भने, “देशमा आर्थिक वृद्धि नभई कसैको उन्नति सम्भव छैन, त्यसैले सबै क्षेत्रले यो विषयमा भूमिका खेल्नुपर्छ।”
उनले अन्य देशका नीतिहरूलाई अध्ययन गरेर नेपालमा अनुकूल नीति ल्याउन राष्ट्र बैंक तयार रहेको पनि बताए ।
सरोकारवालाहरूले ग्रामीण क्षेत्रमा लगानीयोग्य रकमलाई व्यवसायीकृत गर्नुपर्नेमा जोड दिएका छन्।
प्रतिक्रिया दिनुहोस