२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

म कसैबाट केही लिन्न, तर दिइरहन्छु : अध्यक्ष गुरुङ

सोमवार , मंसिर १, २०८२

काठमाडौं । भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले कर तिर्ने विषय आफूका लागि कहिल्यै भार नबनेको बताउँदै, कर तिर्ने संस्कृतिलाई सबैले गर्वका साथ अंगिकार गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

सोमबार आयोजित उत्कृष्ट करदाता सम्मान कार्यक्रममा बोल्दै उनले राष्ट्र निर्माणको आधार कर नै भएको र यसमा पछि नहट्नु नागरिक र व्यवसाय दुवैको जिम्मेवारी भएको उल्लेख गरे।

‘देशको राजस्व घटोस् भन्ने भावना कहिल्यै राखिनँ। जे सकिन्छ, सकेसम्म बढी तिर्ने प्रयास गरेँ,’ उनले भने, ‘कर तिरेर नै देश बन्छ र अन्ततः फाइदा हामी सबैलाई नै फर्केर आउँछ।’

कार्यक्रममा गुरुङले भाटभटेनीले पछिल्लो समय व्यावसायिक रूपमा सामना गर्नुपरेका चुनौतीबारे पनि खुलस्त धारणा राखे। जेनजी आन्दोलनका कारण दसैं(तिहारको सिजनमा ठूलो मात्रामा सामान क्षति भएको बताउँदै उनले आफूले कुनै राजनीतिक समूहलाई जग्गा दान दिएको भन्ने हल्लाले व्यवसायमा अप्रिय असर पारेको बताए। ‘म कसैबाट केही लिन्न, तर दिइरहन्छु। भाटभटेनीले केवल कमाउँदैन, दान पनि गर्छ,’ उनले भने ।

यससँगै उनले भाटभटेनीले पटक–पटक समाजमा पुर्‍याउँदै आएको योगदान पनि स्मरण गराए। टिचिङ अस्पताल, डा। भगवान कोइरालाद्वारा संचालित बाल अस्पताल लगायतका स्वास्थ्य संस्थालाई निरन्तर सहयोग र देशका दुर्गम क्षेत्रका सयौं विद्यार्थीलाई एमबीबीएस पढ्न आर्थिक सहायता दिएको उदाहरण उनले प्रस्तुत गरे। ‘निजी क्षेत्र केवल नाफाको पछाडि मात्र लाग्दैन, सामाजिक जिम्मेवारी पनि वहन गर्छ भन्ने प्रमाण हामीले देखाइरहेका छौं,’ गुरुङको भनाइ थियो।

बढ्दो व्यावसायिक दायित्व, बैंक ऋण र हजारौं कर्मचारीको भविष्य जोगाउने जिम्मेवारीबीच पनि आफूहरू दृढसंकल्पका साथ अघि बढिरहेको गुरुङले बताए। ‘व्यवसाय, बैंक लोन, रोजगारी—यी सबै हाम्रो कर्तव्य हो। र देशप्रति पनि कर्तव्य छ,’ उनले भने।

यी चुनौतीलाई ‘मिठो दुखाइ’को रूपमा लिँदै उनले निजी क्षेत्र तथा व्यवसायीलाई निरन्तर देशमै लगानी गर्न र योगदान दिन आग्रह गरे। ‘अप्ठ्यारोलाई ‘स्विट पेन’ ठानेर यसै देशमा लगानी गरौं, यसै देशका लागि केही गरौं,’ गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट