काठमाडौं । नेपाल राष्ट्र बैंकले १ सय रुपैयाँ दरको नयाँ बैंक नोट प्रचलनमा ल्याएको छ । बैंकले एक सूचना जारी गर्दै आज देखि नयाँ विशेषतासहितको नोट चलनचल्तीमा आएको जानकारी दिएको हो ।
राष्ट्र बैंकका अनुसार सङ्केत नं. क२० ०००००१ देखि घ४० ९९९९९९ सम्म ‘नेपाल सरकारको जमानत प्राप्त यसको रूपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० रुपैयाँ तुरुन्त पाइने छ ।’ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहित नोट चलनचल्तीमा ल्याउने भएको हो ।
नयाँ नोटको बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । नोटको मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्र रहने छ ।
यस्तै, २ मि.मी चौडा भएको रंग परिवर्तन हुने (नोट सिधा हेर्दा रातो रंग र ढल्काएर हेर्दा हरियो रंग देखिने) सुरक्षण धागो रहेको छ । नोटमा गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत र तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा “वि.सं. २०८१“ लेखिएको रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, दृष्टिविहीनहरूले छामेर नोट पहिचान गर्न सक्ने गरी अशोक स्तम्भसँगै एउटा कालो थोप्ला राखिएको छ । त्यस्तै, बायाँतर्फ अण्डाकार भित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र रहेको छ । सुरक्षाको लागि नोटमा २ मिमी चौडा भएको र सीधा हेर्दा रातो तथा ढल्काएर हेर्दा हरियो रङ देखिने सुरक्षा धागो राखिएको छ ।
प्रतिक्रिया दिनुहोस