काठमाडौं । उज्यालो नेपाल पार्टीले पर्साका सक्रिय समाजसेवी रामबाबु यादवलाई जिल्ला संयोजकमा नियुक्त गरेको छ।
उक्त नियुक्ति कार्यक्रम उज्यालो नेपाल पार्टीका केन्द्रीय अध्यक्ष अनुप उपाध्याय, पार्टीका संरक्षक, उज्ज्वलो नेपालको नायक तथा नेपाल सरकारका पूर्व ऊर्जा, जलस्रोत, सिँचाइ तथा भौतिक पूर्वाधार मन्त्री माननीय कुलमान घिसिङलगायत मधेश प्रदेशका चार जना केन्द्रीय सदस्यहरूको उपस्थितिमा सम्पन्न भएको थियो।
भ्रष्टाचारमुक्त समाज निर्माण, युवालाई नेतृत्वमा जोड्ने अभियान र निरन्तर जनसेवामा सक्रिय भूमिकाका कारण यादवलाई उक्त जिम्मेवारी प्रदान गरिएको पार्टीले जनाएको छ।
सामाजिक सेवासँगै शिक्षा क्षेत्रमा उनको योगदान उल्लेखनीय रहेको छ। आर्थिक रूपमा कमजोर तथा विपन्न परिवारका बालबालिकालाई विद्यालयसम्म जोड्ने पहल, शैक्षिक सामग्री सहयोग, शैक्षिक चेतना अभिवृद्धि कार्यक्रम तथा विद्यार्थी मार्गदर्शनमार्फत उनले पर्साका विभिन्न समुदायमा सकारात्मक प्रभाव छोड्दै आएका छन्।
नवनियुक्त जिल्ला संयोजक यादवले पर्सामा पारदर्शी, उत्तरदायी र जनमुखी नेतृत्व प्रदान गर्ने प्रतिबद्धता जनाउँदै, “युवा सहभागिता बढाउँदै शिक्षा, रोजगारी र आधारभूत सेवाका क्षेत्रमा जनताको समस्या समाधानमा परिणाममुखी काम गर्ने” प्रतिक्रिया दिएका छन्।
पार्टीले यादवको नेतृत्वमा पर्सामा संगठन सुदृढ हुनुका साथै शिक्षा, सुशासन र जनसेवामार्फत जनविश्वास अझ मजबुत हुने अपेक्षा व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस