काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अहिलेको अवस्थामा संवैधानिक निकासको मार्ग निर्वाचन नै भएको बताएका छन् ।
शनिबार भक्तपुरमा एमालेको महाधिवेशनको उद्घाटनमा शुभकामना मन्तव्य राख्दै खड्काले प्रतिनिधिसभा विघटनबिरुद्धको मुद्दा अदालतमा बिचाराधीन रहेको अवस्थामा त्यसलाई खुला राख्दै संवैधानिक निकासको मार्ग निर्वाचन हुने कांग्रेसको विश्वास रहेको बताए ।
उनले निष्पक्ष भयरहीत, शान्तिपूर्ण निर्वाचन गर्ने दायित्व सरकार र निर्वाचन आयोगको भएको जिकिर गरे । खड्काले आन्दोलनका क्रममा कारागारबाट बाहिर निस्किएका कैदीबन्दी र सुरक्षाकर्मीबाट लुटिएका हजारौ हतियारहरुका कारण नागरिकमा त्रास रहेकाले यसमा सरकारले बिशेष ध्यान दिनुपर्ने बताए । सरकारका निर्णय र गतिविधिहरु शान्तिसुरक्षा कायममा नदेखिएको प्रति आफुहरु गम्भीर रहेको उनको भनाइ छ ।
उनले राजनीतिक दलहरु एकताबद्ध भएर सहकार्य गर्दै अघि बढ्नुपर्ने बताए । मुख्य दलहरु कमजोर हुँदा निरंकुशता हावी भएको र लोकतन्त्र कमजोर भएको इतिहास रहेकाले सवै दललाई एकताबद्ध गर्न एमालेले भूमिका खेल्नसक्नुपर्ने उनले बताए । उनले सर्वसम्मत विधिप्रक्रियाबाट एमालेको नेतृत्व चयन हुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस