२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

आम नागरिक मञ्चको घोषणापत्रः भ्रष्टाचारमुक्त र नागरिक–मुखी राजनीतिका लागि प्रतिवद्धता

आइतवार , मंसिर २८, २०८२

काठमाडौं । भ्रष्टाचारमुक्त, पारदर्शी र नागरिक–मुखी नयाँ राजनीतिक संस्कार निर्माण गर्ने लक्ष्यसहित आम नागरिक मञ्चले आफ्नो विस्तृत घोषणापत्र सार्वजनिक गरेको छ। स्वतन्त्र र गैरदलिय नागरिक अभियानका रूपमा परिचित मञ्चले मुलुकमा व्याप्त राजनीतिक अव्यवस्था, सर्वव्यापी भ्रष्टाचार र दण्डहीनताको संस्कृतिविरुद्ध सशक्त नागरिक हस्तक्षेप अपरिहार्य भइसकेको निष्कर्षसहित नयाँ वैकल्पिक राजनीतिक चेतनाको दिशा प्रस्तुत गरेको छ।

घोषणापत्रमा नेपाल आज मुठ्ठिभर स्वार्थी शक्ति–समूहको नियन्त्रणमा पुगेको उल्लेख गर्दै यस्तो निर्णायक मोडमा नागरिक, विशेषतः नवयुवा पुस्ताको संगठित उठानले इतिहासको नयाँ अध्याय कोर्न सक्ने विश्वास व्यक्त गरिएको छ। मञ्चले जेन–जी नवयुवा आन्दोलनले उजागर गरेको “साहस, रोष, चेतना र प्रतिरोध” लाई नेपालको सबैभन्दा शक्तिशाली राजनीतिक ऊर्जा घोषणा गर्दै त्यसको व्यवस्थापन, संरक्षण र सुदृढीकरण गर्ने प्रतिबद्धता जनाएको छ।

राज्यकोष दोहन, ठेक्का–कमिसन, संस्थागत लुट तथा अपराधी संरक्षणजस्ता क्रियाकलापविरुद्ध कठोर र निरन्तर संघर्ष गर्ने मञ्चले स्पष्ट पारेको छ। “भ्रष्टाचारविरुद्धको यो लडाइँ कुनै व्यक्तिको होइन—यो जनताको, युवाहरूको र देशको भविष्यको लडाइँ हो,” घोषणापत्रमा उल्लेख गरिएको छ।

युवालाई परिवर्तनको निर्णायक शक्ति

घोषणापत्रमा युवालाई केवल सहयोगी भूमिका होइन, देश परिवर्तनका मुख्य शक्ति–इन्जिनका रूपमा परिभाषित गरिएको छ। भावनात्मक विद्रोह मात्र पर्याप्त नहुने उल्लेख गर्दै वैज्ञानिक, अनुशासित र दीर्घकालीन नागरिक आन्दोलनबाट मात्र स्थायी परिवर्तन सम्भव हुने मञ्चको ठहर छ। युवालाई खेत, कारखाना र समाजका वास्तविक समस्याबीच गएर अभ्यास, अध्ययन र चेतना विस्तार गर्न आह्वान गरिएको छ।

दृष्टि, मिशन र मूल मूल्यहरू

दृष्टि : भ्रष्टाचार अपवाद बन्ने, नागरिकको आवाज राज्यले सुन्ने, युवाहरू देशमै भविष्य खोज्न सक्ने तथा न्याय र समानता मुख्य आधार हुने नयाँ नेपालको निर्माण।

मिशन : दलिय दुरुपयोग, भ्रष्टाचार, दण्डहीनता, अवसरको असमानता र राजनीतिक असफलताविरुद्ध सशक्त नागरिक मोर्चा निर्माण।

मूल मूल्यहरू:

– सत्य

– पारदर्शिता

– नागरिक सर्वोच्चता

– जवाफदेहिता

– अहिंसात्मक तर दृढ संघर्ष

घोषणापत्रमा उल्लेख गरिएका प्रमुख लक्ष्यहरूमा

– भ्रष्टाचारविरुद्ध राष्ट्रिय जनआन्दोलन

– न्याय सुनिश्चित गर्दै दण्डहीनताको अन्त्य

– शिक्षा, स्वास्थ्य र रोजगारीमा समान पहुँच

– स्थानीय शासन प्रणालीको सशक्तिकरण

‘नयाँ नेपालका लागि पाँच प्रतिज्ञा’

सत्य र इमान, न्याय र समानता, जनपक्षीय राजनीति, शिक्षा–श्रम–प्रविधि, र राष्ट्रिय एकता तथा पुनर्जागरण।

आम नागरिक मञ्चले आफू परिवर्तनको आवाज मात्र नभई परिवर्तनको मार्गदर्शक शक्ति बन्न चाहेको स्पष्ट पारेको छ। “अब सिस्टमलाई दोष दिने होइन, सिस्टम परिवर्तन गर्ने समय आएको छ,” मञ्चका अध्यक्ष अर्जुन बोगटीले बताए।

अध्यक्ष बोगटीका अनुसार घोषणापत्रलाई अब देशव्यापी नागरिक संवाद, जनजागरण तथा अभियानमुखी क्रियाकलापमार्फत चरणबद्ध रूपमा कार्यान्वयनतर्फ अघि बढाइने छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट