काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नेतृत्व चयनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरिँदै छ । सार्वजनिक निर्वाचन तालिकाअनुसार आज बिहान १०ः१५ बजे अन्तिम मतदाता नामावली प्रकाशित हुनेछ ।
त्यसपछि दिउँसो १ः३० बजेसम्म उम्मेदवारहरूको दरखास्त फारम दर्ता गर्ने कार्यतालिका तय गरिएको छ । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार दिउँसो २ः३० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ ।
प्रारम्भिक नामावलीप्रति उजुरी दिने समय दिउँसो २ः३० देखि ३ बजेसम्म तोकिएको छ । उजुरीमाथि आवश्यक जाँचबुझ र प्रक्रिया पूरा गरेपछि साँझ ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
निर्वाचन समितिका अनुसार पुस १ गते मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म नयाँ कार्यसमिति चयनका लागि मतदान हुनेछ ।
यद्यपि निर्वाचन तालिका सार्वजनिक भइसके पनि शीर्ष तहमा सहमतिको प्रयास जारी रहेको छ । अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरू अध्यक्षमा ओलीलाई निरन्तरता दिने र अन्य पदमा निर्वाचन गराउने पक्षमा देखिएका छन् ।
भक्तपुरको सल्लाघारीमा मंसिर २७ गते उद्घाटन भएको एमालेको एघारौं महाधिवेशनको बन्दसत्र मंसिर २८ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी छ ।
बन्दसत्र सुरु हुनुअघि बसेको एमाले केन्द्रीय कमिटीको अन्तिम बैठकले भदौमा सम्पन्न विधान महाधिवेशनका केही निर्णय उल्ट्याउँदै अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ गरी १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गर्ने निर्णय गरेको थियो । साथै केन्द्रीय कमिटीको एक तिहाइ पोलिटब्युरो र पोलिटब्युरो सदस्य संख्याको एक तिहाइ स्थायी कमिटी गठन गरिनेछ ।
प्रतिक्रिया दिनुहोस