काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने घोषणा गर्दै ७ बुँदे सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार रास्वपाको केन्द्रीय नेतृत्व रवि लामिछानेले गर्नेछन् भने आगामी प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेद्वारका रूपमा बालेन शाहलाई अघि सारिनेछ ।
आगामी एक दशकको मुलुकको राजनीतिक, आर्थिक र सामाजिक मार्गचित्र प्रस्तुत गर्ने प्रतिबद्धतासहित गरिएको उक्त सम्झौतामा दुवै पक्षले सुशासन, समुन्नति र सामाजिक न्यायलाई मूल एजेन्डा बनाउने उल्लेख गरेका छन् ।
बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीभित्र आबद्ध हुन सहमत भएपछि पार्टीको नाम, झण्डा र चुनाव चिन्ह यथावत् राखिनेछ । सम्झौतापत्रमा रवि लामिछाने र बालेन शाहले आ–आफ्नो पदीय हैसियत उल्लेख नगरी नाम मात्र लेखेर हस्ताक्षर गरेका छन् । यद्यपि सम्झौतामा रास्वपाको नेतृत्व रविले गर्ने स्पष्ट उल्लेख छ ।
सम्झौतापछि बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर सक्रिय पार्टी राजनीतिमा प्रवेश गर्ने सम्भावना देखिएको छ ।
सम्झौताको पहिलो बुँदामा नवयुवा (जेन–जी) ले भ्रष्टाचार र कुशासनविरुद्ध सञ्चालन गरेको आन्दोलनप्रति अपनत्व लिने र त्यस क्रममा घाइते तथा शहीद परिवारका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ ।
दोस्रो बुँदामा नीतिगत, संस्थागत र संरचनागत सुधारमार्फत सामाजिक न्यायसहितको समुन्नत नेपाल निर्माण गर्ने उल्लेख छ । उनीहरूले नेपाललाई आगामी १० वर्षभित्र सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने लक्ष्यमा इमान्दार प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सम्झौतामा दुवै पक्षलाई पहिलो र दोस्रो पक्षका रूपमा उल्लेख गर्दै बृहत् राजनीतिक एकताको उद्घोष गरिएको छ । पार्टीको नाम, चिन्ह र झण्डा पुरानै रहनेछ भने केन्द्रीय सभापति रवि लामिछाने रहने र आगामी सरकारको नेतृत्व बालेन शाहले गर्ने सहमति भएको छ ।
यद्यपि सम्झौतापत्रमा कुलमान घिसिङ तथा उनी आवद्ध उज्यालो नेपाल पार्टीका विषयमा कुनै उल्लेख छैन । तर बृहत् एकताको क्रममा उनीहरूलाई पनि समेट्ने संकेत गरिएको छ ।
सम्झौतामा पार्टीको संगठनात्मक संरचना थप सुदृढ र फराकिलो बनाउँदै युवा अभियन्ता तथा अनुभवी विज्ञलाई योग्यता, समावेशिता र सार्वजनिक छविको आधारमा जिम्मेवारी दिने उल्लेख छ ।
यस सम्झौताअनुसार तत्काल कार्यान्वयन प्रक्रिया सुरु गर्दै निर्वाचन आयोगमा रास्वपाको अभिलेख तथा दस्तावेज अद्यावधिक गरिनेछ । बालेन पक्षका समानुपातिक उम्मेद्वारहरू पनि रास्वपाबाटै प्रतिस्पर्धा गर्नेछन् ।
सम्भवतः दुई दिनभित्र समानुपातिक उम्मेद्वारको सूची निर्वाचन आयोगमा बुझाइनेछ भने प्रत्यक्षतर्फको मनोनयनका लागि अझै करिब तीन साता समय बाँकी छ ।
उनीहरूले आफूहरूको अभियानलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा अघि बढाउँदै रास्वपाको सिद्धान्त, नेतृत्व र चुनाव चिन्हमा गोलबद्ध हुन आह्वान गरेका छन् । साथै लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा विश्वास राख्ने अन्य वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिलाई पनि सहकार्यका लागि आह्वान गरिएको छ ।
सम्झौतामा पार्टीका अन्य पदाधिकारीहरूको भूमिका तथा उम्मेद्वार चयन र व्यवस्थापनका विषयमा भने स्पष्ट उल्लेख गरिएको छैन । यसअघि रवि लामिछाने र बालेन शाहबीच पटक–पटक एकैसाथ निर्वाचनमा जानेबारे छलफल भए पनि ठोस सहमति जुट्न सकेको थिएन ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशबाट रवि लामिछाने रिहा भएपछि पार्टी एकताको छलफलले तीव्रता पाएको थियो । यस क्रममा ऊर्जा मन्त्री कुलमान घिसिङसँग पनि छलफल भए तापनि आइतबार बिहान सम्पन्न सम्झौतामा उनी सहभागी छैनन् ।
प्रतिक्रिया दिनुहोस