काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ । मुलुकको पछिल्लो समसामयिक राजनीतिक विषय र संसद्को गतिरोधका सन्दर्भमा छलफल गर्न सभापति लामिछानेले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक बोलाएका हुन् ।
बैठक सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखा समितिको हलमा केही बेरअघि सुरु भई जारी रहेको छ ।
बैठकमा सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष तथा सभापतिसहित दुई–दुई जना शीर्ष प्रतिनिधिलाई आमन्त्रण गरिएको थियो । तर, प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपाका शीर्ष नेताहरू भने बैठकमा सहभागी भएका छैनन् । ती दलहरूले बैठकमा दोस्रो तहका नेता वा सांसदहरूलाई मात्र पठाएका छन् ।
यद्यपि, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन भने बैठकमा आफैँ सहभागी भएका छन् । राप्रपा अध्यक्ष लिङ्देनसँगै अन्य साना दलका प्रतिनिधिहरू पनि बैठकमा उपस्थित रहेका छन् ।
हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टीले भने रास्वपाले बोलाएको उक्त सर्वदलीय बैठक बहिष्कार गरेको जनाएको छ । राजनीतिक एजेन्डा र बैठक आह्वानको औचित्यमाथि प्रश्न उठाउँदै साम्पाङको पार्टीले बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।
बजेट अधिवेशन चलिरहेका बेला सिंहदरबारमा जारी यस बैठकमा संसद्को प्रभावकारिता, समसामयिक राजनीतिक अवस्था, जनताका तात्कालिक सरोकार तथा राष्ट्रिय हितका साझा विषयमा केन्द्रित रहेर राजनीतिक दलहरूबीच छलफल भइरहेको रास्वपा सचिवालयले जनाएको छ । रास्वपाले पहिलोपटक संसद्मा रहेका सबै दलहरूलाई समेटेर यसरी सर्वदलीय छलफल चलाएको हो ।
प्रतिक्रिया दिनुहोस