काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राजनीतिक भविष्यबारे दिएको एक विवादास्पद अभिव्यक्तिलाई लिएर प्रतिनिधि सभाका सांसद एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले कटाक्ष गरेका छन् । एमाले नेता महरको राजनीतिक भविष्यवाणीमाथि स्वतन्त्र सांसद पुनले सामाजिक सञ्जालमार्फत व्यङ्ग्य गरेका हुन् ।
एमाले मुख्य सचेतक महरले ‘सुनौलो नेपाल’ सँगको अन्तर्वार्तामा “अबको पाँच वर्षपछि रास्वपालाई बत्ती बालेर खोज्नुपर्ने अवस्था आउँछ” भन्दै टिप्पणी गरेका थिए । सोही अभिव्यक्तिको भिडियो क्लिप सामाजिक सञ्जालमा शेयर गर्दै पुनले प्रतिवादस्वरूप व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका हुन् ।
एमाले नेता महरको दाबीप्रति टिप्पणी गर्दै सांसद पुनले फेसबुकमा लेखेका छन्, “हेरौँ न, पाँच वर्षपछि यो भविष्यवाणी कत्तिको पूरा हुन्छ। ३५ वर्ष शासन गरेका सुनौलो र महान् भनिने पार्टीका माननीयले भनेको कुरा सुनेर म त हाँसेरै मर्ने भएँ ।”
पुनले लेखेका छन्, “उहाँलाई बुढ्यौलीले छुन त अझै धेरै वर्ष बाँकी छ। उहाँ ठूलो ज्योतिष नै पो हो कि क्या हो।”
प्रतिक्रिया दिनुहोस