२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

विपिन जोशीको स्मृतिमा चोक नामाकरण, सालिक निर्माणका लागि बजेट विनियोजन

शनिवार , माघ १०, २०८२

कञ्चनपुर । प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएका अवस्थामा मृत्यु भएका कञ्चनपुरका विपिन जोशीको स्मृतिमा भीमदत्त नगरपालिकाले ‘विपिन चोक’ नामाकरण गरेको छ ।

मृतक विपिनको घर जाने सडक पूर्वपश्चिम राजमार्ग र ब्रह्मदेव लिङ्क सडकको मुख्य चोकको नाम विपिन जोशी चोक नामाकरण गरिएको हो । भीमदत्तनगर कार्यपालिकाको निर्णयपछि नगरपालिका र वडा कार्यालयले शुक्रवार औपचारिक रूपमा उक्त चोकको नामाकरण गर्दै विपिन जोशीको नाम लेखिएको बोर्ड राखेको हो ।

सोही स्थानमा विपिनको सालिक निमार्ण गर्ने भीमदत्त नगरपालिका–३ का वडाध्यक्ष गगन धामीले जानकारी दिए । उनका अनुसार सालिक निमार्णका लागि नगरपालिकाले रु दुई लाख बजेट विनियोजन गरिसकेको छ ।

“कार्यपालिकाबाट विपिनको स्मृतिमा विपिन चोक नामाकरण गरि सालिक बनाउने निर्णय भएको छ ।” अध्यक्ष धामीले भने, “सोहीअनुरुप आज विपिन चोक नामाकरण गरिएको छ, केही समयपछि सालिक स्थापनाकार्यलाई पूर्णता दिइन्छ ।” यसअघि भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले विपिनको स्मृतिमा सालिक स्थापना गर्ने प्रतिवद्धता जनाएका जनाएका थिए ।

विपिन चोक घोषणा कार्यक्रममा विपिनका बुवा महानन्द जोशी, दाइ किशोर जोशीलगायत परिवारका सदस्यको उपस्थिति रहेको थियो । भीमदत्त नगरकार्यपालिकाले विपिनलाई सहिद घोषणा गर्न जिल्ला प्रशासन कार्यालयमार्फत सङ्घीय सरकारमा सिफारिससमेत गरेको वडाध्यक्ष धामीले जानकारी दिए ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्कायका ४९ जना विद्यार्थी दुई वर्षअघि ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तरगत इजरायल पुगेका थिए । उनीहरु इजरायल पुगेको महिना दिन नपुग्दै हमासको आक्रमणमा परेका थिए । हमासको आक्रमणमा परेर १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो । बन्धक बनाएकै अवस्थामा विपिनको मृत्यु भएको हो ।

गत कात्तिकमा इजरायल र हमासबीच जारी युद्ध अन्त्य गर्ने क्रममा अमेरिकाले प्रस्ताव गरेको मध्यपूर्व शान्ति योजनाको पहिलो चरणअनुसार बन्धक र प्यालेस्टिनी कैदी रिहा गर्ने सहमति भएपछि हमासले विपिनको शव हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट