विराटनगर । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकारी एलाइन्स) कोशी प्रदेशको अध्यक्षमा धनकुटाका निल बहादुर थापा सर्वसहमत चयन भएका छन् ।
एलाइन्सको शनिबार विराटनगरमा सम्पन्न दोस्रो प्रदेश अधिवेशन एवं तेस्रो बार्षिकसभाले ६ जना सदस्य पछि मनोनयन गर्ने गरी ११ सदस्यीय समिति बनाएको हो ।
एलाइन्सको उपाध्यक्षमा भोजपुरका गणेश प्रसाद तिमल्सेना, झापाकी कविता बास्तोला, सचिवमा मोरङका अर्जुन बास्तोला, उप–सचिवमा उदयपुरकी कमला खड्का र तेह्रथुमका दधिराम न्यौपाने र कोषाध्यक्षमा झापाकी प्रेमा भट्टराई चयन भएका छन् । सदस्यमा संखुवासभाकी हेम कुमारी पोखरेल, मोरङ रञ्जु कुमारी सिंह, इलामकी टंक कुमारी रिजाल र पाँचथरका राजेन्द्र प्रसाद काफ्ले चयन भएका छन् ।

एलाइन्स प्रदेश अध्यक्ष सरिता खनालको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष विदुर सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष खनालले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन । प्रतिवेदन प्रस्तुत गर्दै खनालले प्रदेशमा एलाइन्सको अवस्थाको बारेमा जानकारी गराउनुका साथै गरेका कामको बारेमा जानकारी गराएकी थिइन् ।
प्रतिवेदन अनुसार कोशी प्रदेशका १४ वटै जिल्लामा एलाइन्सको समिति रहेको छ भने १३७ पालिकाका पालिका समिति रहेको छ ।
एलाइन्सले संगठन सुदृढिकरण तथा विस्तार, मानवअधिकार शिक्षा, जनसरोकारका विषयहरुमा परिचालन, समन्वय र सहकार्य, प्रचारात्मक कामको व्यवस्थापन, लेखाप्रणालीलाई व्यवस्थित गर्ने, क्षमता अभिवृद्धि र प्रशिक्षण लगायतका काम कामहरु गर्दै आएको र यसलाई निरन्तरता दिने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस