काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलका नेताहरूबीच पब्लिक डिबेटको माग उठ्नु सकारात्मक संकेत भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले यस्ता सार्वजनिक बहसमा सहभागी हुन आफू पूर्ण रूपमा तयार रहेको उल्लेख गरेका छन्।
ओलीले लेखेका छन्, ‘नयाँ–पुराना सबै दलहरू अहिले चुनावी मैदानमा छन्। देश जलाउने र देश बनाउने पक्षबीच हुने यस प्रतिस्पर्धामा नेकपा एमाले देश बनाउने एजेन्डासहित मैदानमा उत्रिएको छ।’ उनका अनुसार पछिल्लो समय सार्वजनिक बौद्धिक वृत्तबाट प्रमुख नेताबीच पारदर्शी बहसको माग उठ्नु अर्थपूर्ण छ।
सामाजिक सञ्जालमार्फत फ्रेमिङ गरेर प्रचार सामग्री फैलाएर मतदातालाई भ्रममा पार्ने र आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकै कारण पब्लिक डिबेटको आवश्यकता महसुस भएको हुन सक्ने ओलीको भनाइ छ।
उनले यसपटकको निर्वाचनमा ऐतिहासिक भूमिका खेलेका दलदेखि नयाँ खुलेका दलसम्म प्रधानमन्त्रीको उम्मेदवार तोकेर मैदानमा आएको उल्लेख गर्दै देशको नेतृत्व गर्न खोज्ने दलहरूको एजेन्डा, विगतको काम र भावी योजनाबारे सार्वजनिक रूपमा बहस हुनु आवश्यक रहेको बताए।
‘देशको नेतृत्व गर्न चाहने दलहरूले के एजेन्डा बोकेका छन्, यसअघि के गरे र अब के गर्ने रोडम्याप छ भन्ने विषयमा आमने–सामने बहसको माग अत्यन्त सकारात्मक छ,’ ओलीले लेखेका छन्। उनले यस्ता डिबेटमा उभिएर विगतमा गरेका कामको तथ्य र आगामी कार्ययोजनाका एजेन्डा प्रस्तुत गर्न आफू तयार रहेको स्पष्ट पारे।
चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत भएका सबै नेताहरूसँग सिधा प्रश्नोत्तर हुने मञ्चमा उभिएर आफ्ना एजेन्डा राख्ने प्रतिबद्धता पनि ओलीले जनाएका छन्। साथै, सबै पक्षलाई सहभागी गराएर यस्ता पब्लिक डिबेट आयोजना गर्न उनले आग्रह समेत गरेका छन्।
प्रतिक्रिया दिनुहोस