विराटनगर । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कोशी सहयोग कार्यक्रम निर्देशक समितिको बैठक सोमबार विराटनगरमा सम्पन्न भएको छ।
स्विस सरकार विकास सहयोग कार्यक्रम अन्तर्गत सञ्चालन भइरहेको कार्यक्रमहरूको समीक्षा र प्रगति साथै आगामी दिनमा गर्न सकिने कार्यक्रमका बारेमा बैठकमा छलफल भएको हो ।
यो कार्यक्रम अन्तर्गत करिब ८ करोड रुपैयाँ बराबरको कम्प्युटर प्रिन्टर लगायतका सामग्री स्थानीय तहमा हस्तान्तरण गरी जेन्जी आन्दोलनपछि वडा कार्यालयहरु सञ्चालन गर्न सहयोग पुगेको छ। यो कार्यक्रमले संघीयता कार्यान्वयन र सुशासनमा सहयोग गर्दै आएको छ। प्रदेशमा कानुन निर्माणमा समेत यसले सहयोग गरेको छ। बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सुशासन र असल अभ्यासलाई जोड दिएर काम गर्नुपर्ने बताए ।
उनले स्विस सरकारको सहयोगमा भएको कार्यक्रमलाई छिटो र छरितो ढंगले टुंग्याउनुपर्ने उल्लेख गरे । कार्यविधि र अरु प्रक्रियाहरु चाँडो सकेर कामलाई द्रुत गतिमा अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।
मुख्यमन्त्री कार्कीले स्विस सरकारसँगको सम्बन्ध सात दशक लामो भएको चर्चा गर्दै स्विस सरकारले नेपाललाई गरेको सहयोग प्रशंसनीय भएको बताए ।
प्रतिक्रिया दिनुहोस