काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले माघ १३ गते कैलाली र कञ्चनपुर जिल्लामा जनसम्पर्क तथा अभिवादन कार्यक्रम सञ्चालन गर्ने भएका छन्। पार्टीले सार्वजनिक गरेको कार्यक्रम तालिकाअनुसार बालेनले एकैदिन सुदूरपश्चिमका दुई जिल्लाका विभिन्न बजार र बस्तीमा पुगेर सर्वसाधारणसँग भेटघाट गर्नेछन्।
तालिकाअनुसार बालेनको कार्यक्रम बिहान ७ बजे कैलालीको राजापुरबाट सुरु हुनेछ। राजापुरमा स्वागत तथा अभिवादन कार्यक्रमपछि उनी टिकापुरतर्फ प्रस्थान गर्नेछन्। टिकापुर बजारको घण्टिघर, कुमारी बैंक नजिक तथा लमकी–टिकापुर सडक क्षेत्रमा बिहान ८ बजेदेखि ९ बजेसम्म जनसम्पर्क कार्यक्रम तय गरिएको छ।
यसपछि बालेन लमकी बजार (भल्गा घण्टिघर), बर्दगोरिया बजार क्षेत्र, सुखड घण्टिघर, पशमानपुर, मसुरिया र चौमाला–९ घण्टिघर क्षेत्रमा क्रमशः स्वागत तथा अभिवादन कार्यक्रममा सहभागी हुनेछन्। दिउँसो १ बजेदेखि २ः३० बजेसम्म अत्तरियाको घण्टिघर क्षेत्रमा भोजन तथा संक्षिप्त भेटघाट कार्यक्रम राखिएको छ।
दिउँसो २ः३० बजेदेखि ३ः३० बजेसम्म धनगढी बजारमा जनसम्पर्क कार्यक्रम सम्पन्न गरेपछि बालेन कञ्चनपुरतर्फ प्रस्थान गर्नेछन्।
कञ्चनपुरमा पुनर्वास चोक र झलारी क्षेत्रमा स्वागत तथा अभिवादन कार्यक्रम तय गरिएको छ। साँझ ६ः१० बजेदेखि ७ बजेसम्म महेन्द्रनगर बजारको घण्टिघर र मदनचोक क्षेत्रमा जनसम्पर्क कार्यक्रम आयोजना गरिने पार्टीले जनाएको छ।
रास्वपाका अनुसार बालेनको यो भ्रमण संगठन सुदृढीकरण, जनमत संकलन तथा नागरिकसँग प्रत्यक्ष सम्पर्क विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको हो। कार्यक्रम सम्पन्न भएपछि बालेनले कञ्चनपुरमै रात्रि विश्राम गर्नेछन्।

प्रतिक्रिया दिनुहोस