काठमाडौं । बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा अज्ञात व्यक्तिले आमाछोराको हत्या गरेका छन् । प्रहरीका अनुसार आज बिहान करिब ३ बजेतिर धारिलो हतियार प्रयोग गरी आक्रमण हुँदा ५२ वर्षीया आमा र उनका ३२ वर्षीय छोराको ज्यान गएको हो ।
मण्डल थरका आमा–छोरामाथि घरमै आक्रमण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनामा मण्डल परिवारकै अन्य तीन जना घाइते भएका छन् । घाइतेहरूको अवस्था गम्भीर रहेको र उनीहरूलाई एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
हत्या गर्ने व्यक्ति फरार रहेकाले खोजी कार्य तीव्र पारिएको बारा प्रहरीले जानकारी दिएको छ । घटनाको कारण र संलग्न व्यक्तिबारे थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस