२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

प्रतिनिधिसभा निर्वाचनः बाँकेमा ५२ पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै चार महिला

बुधवार , माघ १४, २०८२

बाँके । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेबाट चार जना महिला उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन् ।

बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट कृष्णा केसी (नमूना) तथा बाँके क्षेत्र नम्बर ३ बाट विद्या शर्मा, भूमि महत्तरा र भगवती शाहले उम्मेदवारी दिएका छन् । केसीले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट, शर्माले आमजनता पार्टीबाट, महतरा नेपाल मजदुर किसान पार्टी र शाहले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।

पुरुष मात्रै राजनीतिमा सक्रिय हुन सक्छन् भन्ने पितृसत्तात्मक सोचलाई चुनौती दिँदै उम्मेदवारको लामो सूचीमा यी चार महिलाको नाम केवल सङ्ख्या मात्र नभई यो परिवर्तनको एउटा बलियो साहस भएको अधिकारकर्मी भोला महत बताउछन् ।

महिलालाई समानुपातिक सूचीमा उम्मेदवार बनाउने राजनीतिक दलहरुको परम्परालाई चिर्दै धेरै पुरुष उम्मेदवारकाबीच प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ उम्मेदवारी दिँदै चार जना महिलाले निर्वाचन लड्ने साहस देखाएको उनको बुझाइ छ ।

राप्ती सोनारी–९ ढकेरी निवासी कृष्णा केसी यसअघि लुम्बिनी प्रदेशसभा सदस्यको रूपमा सफल कार्यकाल बिताइसकेकी छन् । विसं २०७४ र विसं २०७९ को निर्वाचनमा माओवादी केन्द्रबाट विजयी भएकी केसीले यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेशसभाबाट राजीनामा दिएर प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट चुनावी मैदानमा होमिएकी छन् ।

“प्रदेशमा बसेर धेरै काम गरियो, अब सङ्घीय संसद्मा पुगेर जनताका मुद्दालाई अझ प्रभावकारी रूपमा उठाउने मेरो लक्ष्य छ”, उनले भने, “शिक्षा, स्वास्थ्य र सामाजिक न्याय मेरो मुख्य एजेण्डा हुन् ।” केसीले नेकपा (एमाले) का सूर्य ढकाल, नेपाली कांग्रेसका नारायणप्रसाद गौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार चौधरी, नेपाली कम्युनिष्ट पार्टीका नरेन्द्र पाण्डेलगायत पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछन् ।

नेपालगञ्ज–१६ जैसपुर निवासी विद्या शर्मा स्थानीयस्तरमा सामाजिक कार्यमा निकै सक्रिय नाम हो । आमजनता पार्टीबाट उम्मेदवारी दिएकी शर्माले जनताको दैनिक समस्या र स्थानीय मुद्दालाई संसद्सम्म पुर्उने अठोट लिएकी छन् । उनले भुइँ तहका समस्या समाधानका लागि राजनीतिलाई माध्यम बनाउन चाहेको बताइन्।

खजुरा गाउँपालिका–३ सिर्जना टोलकी भूमि महतरा नेपाल मजदुर किसान पार्टीको तर्फबाट चुनावी प्रतिस्पर्धामा छन् । तल्लो तहका मजदुर र उत्पीडित समुदायको उत्थान नै आफ्नो राजनीतिको केन्द्रविन्दु भएको उनले बताए । सामाजिक विभेद र उत्पीडन विरुद्धको लडाइँलाई चुनावी मुद्दा बनाएको उनको दाबी छ ।

बैजनाथ गाउँपालिका–४ बानियाभार निवासी भगवती शाहले कुनै दलको ओत नलागी स्वतन्त्र रूपमा उम्मेदवारी दिएकी छन् । समाजको स्तर उकास्न र वास्तविक जनसरोकारका विषयमा काम गर्न दलभन्दा माथि उठेर आफू मैदानमा आएको उनको दाबी छ ।

बाँके क्षेत्र नं. ३ मा महिला उम्मेदवारहरुले नेकपा (एमाले) का सुमन मल्ल, नेपाली कांग्रेसका अमरसिंह पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार, नेपाली कम्युनिष्ट पार्टीका दीपक जिएम लगायतका पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछन् । बाँकेको तीनवटै निर्वाचन क्षेत्रमा ६० जनाले उम्मेदवारी दिएकोमा क्षेत्र नम्बर २ मा उम्मेदवार बन्नुभएका सरस्वतीप्रसाद बर्मा र विजयकुमार गुप्ता, क्षेत्र नम्बर ३ मा प्रदीप पौडेल र दीपकबहादुर शाही गरी चार जनाले उम्मेदावरी फिर्ता लिएका छन् ।

तीनवटै क्षेत्रमा उम्मेदवार फिर्ता भएसँगै क्षेत्र नम्बर १ मा १४ जना र क्षेत्र नम्बर २ मा २० जनाको उम्मेदवारी कायम भएको छ भने क्षेत्र नम्बर ३ मा २२ जना उम्मेदवार गरी जिल्लामा ५६ जना उम्मेदवार बनेका छन् । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार, बाँके निर्वाचन क्षेत्र नम्बर १ मा कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका तथा नरैनापुर गाउँपालिकाअन्तर्गत सबै ३० वडा समावेश छन् । यस क्षेत्रमा कूल एक लाख २४ हजार ७२७ मतदाता रहेका छन् । निर्वाचन क्षेत्र नम्बर–१ मा ४८ वटा मतदानस्थलसहित १४१ मतदान केन्द्र निर्धारण गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका २१ र डुडुवा गाउँपालिकाका सबै छ गरी २७ वडा रहेका क्षेत्र नं. २ मा ५७ हजार ११७ जना पुरुष, ५१ हजार १६७ जना महिला र छ जना अन्यसहित कूल एक लाख आठ हजार २९० मतदाता रहेका छन् । मतदान प्रक्रियालाई सहज र व्यवस्थित तुल्याउन ४३ वटा मतदानस्थलसहित १२४ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

यसैगरी नेपालगञ्ज उपमहानगरपालिकाका १६ र १७ वडा, जानकी गाउँपालिकाका सबै छ, खजुरा गाउँपालिका सबै आठ र बैजनाथ गाउँपालिकाका सबै आठ गरी २४ वडा समेटिएको निर्वाचन क्षेत्र नम्बर–३ मा ५८ हजार ६६४ जना पुरुष र ५८ हजार ६८९ जना महिला गरी कूल एक लाख १७ हजार ३५४ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी शाहीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट