२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

मोरङमा जिल्ला स्तरीय वादविवाद प्रतियोगिता तथा ‘खेलाडी सम्मान’ कार्यक्रम हुँदै

बुधवार , माघ १४, २०८२

विराटनगर । चुडामणि स्मृति प्रतिष्ठानको आयोजनामा आगामी माघ १६ गते शुक्रबार मोरङमा जिल्ला स्तरीय वादविवाद प्रतियोगिता (पाँचौँ संस्करण) तथा ‘खेलाडी सम्मान’ कार्यक्रम आयोजना हुने भएको छ ।

नेपाली समाजको सामाजिक, आर्थिक तथा सांस्कृतिक रूपान्तरणमा योगदान पुर्याउने उद्देश्यसहित स्थापना गरिएको उक्त प्रतिष्ठानले विशेषगरी युवा तथा विद्यार्थीको बौद्धिक क्षमता, सिर्जनात्मकता र व्यक्तित्व विकासमा जोड दिँदै विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको प्रतिष्ठानले जानकारी दिएको छ ।

प्रतिष्ठानका अनुसार यस वर्षको जिल्ला स्तरीय वादविवाद प्रतियोगिताको विषय ‘कृत्रिम बुद्धिमत्ता (एआई) मानव नियन्त्रणमा रहन्छ कि मानवलाई नियन्त्रण गर्छ ?’ तय गरिएको छ । प्रतियोगितामा मोरङ जिल्लाभरका माध्यमिक विद्यालयमा कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरू सहभागी हुने चुडामणी स्मृति प्रतिष्ठानकी महासचिव रीता न्यौपानेले जानकारी दिईन् ।

प्रतियोगितामा उत्कृष्ट हुने पक्ष र विपक्षतर्फका प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विजेताहरूलाई क्रमशः नगद रु. ५१ हजार, रु. ३१ हजार र रु. २१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने महासचिव न्यौपानेले बताईन् ।

कोशी प्रदेशका मुख्यमन्त्री माननीय हिक्मतकुमार कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुने स्मृति इङ्लिस स्कुलको अभिभावक दिवस तथा विद्यार्थी प्रतिभा प्रस्तुत कार्यक्रममा भागवत वाचिका राधिका दासीको विशेष उपस्थिति रहने न्यौपानेले जानकारी दिईन् । कार्यक्रम बुढीगंगा–३ स्थित स्मृति इङ्लिस स्कुलको प्राङ्गणमा आयोजना हुनेछ ।

यसैगरी, खेलकुद क्षेत्रमा जिल्ला तथा राष्ट्रको नाम उज्ज्वल बनाएका खेलाडीहरूको योगदानको कदर गर्दै ‘खेलाडी सम्मान’ कार्यक्रमसमेत आयोजना गरिने छ । यस कार्यक्रममार्फत खेलाडीलाई सम्मान गर्दै भावी पुस्तालाई खेलकुदप्रति प्रेरित गर्ने लक्ष्य प्रतिष्ठानले लिएको छ ।

प्रतियोगिताको निष्पक्ष मूल्याङ्कनका लागि प्रख्यात लेखक सुविन भट्टराई, प्राध्यापक सरोज घिमिरे र भेषजा काफ्ले सम्मिलित निर्णायक मण्डल गठन गरिएको छ ।

जिल्ला स्तरीय वादविवाद प्रतियोगितामा यो समाचार तयार पार्दासम्म ३१ वटा विद्यालयले नाम पठाएको र बाँकी ८ वटाले सहभागि हुने जानकारी गराएको भएपनि नाम नटिपाएको महासचिव न्यौपानेले जानकारी दिईन् । उनका अनुसार नाम टिपाउनेमा १० वटा सरकारी विद्यालयले र २१ वटा संस्थागत विद्यालय रहेका छन् ।

प्रतियोगितामा सरकारी विद्यालयलाई सहभागि गराउन समस्या भएको उनले बताईन् । “हामी ४५० वटा विद्यालयमा गएका छौं । पालिकाको शिक्षा शाखासँग कुरा गरेका छौं । तर, पनि सरकारी स्कूलको सहभागिता न्यून छ”, उनले भनिन्, सरकारी विद्यालयबाट बोल्न सक्ने विद्यार्थी तयार पार्न सकिएन भन्ने जवाफ आउँदा दुःख लाग्छ । हामी सरकारी स्कूलबाट उत्पादन भएको जनशक्ति भएका कारण पनि हामीले यस्तो उत्तरको अपेक्षा गर्दैनौं ।”

वादविवाद प्रतियोगितालाई विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका, रंगेली नगरपालिका, सुनवर्षी नगरपालिका, पथरीशनिश्चरे नगरपालिका सुन्दरहरैँचा नगरपालिकाले सहयोग गरेको न्यौपानेले बताईन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट