काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा यात्रुबाहक बस पल्टिँदा ३८ जना घाइते भएका छन् ।
दाङबाट काठमाडौंतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०४६६० नम्बरको नाइट बस आज बिहान करिब ३ः१० बजे ‘घुमाउने’ भन्ने स्थानमा दुर्घटनामा परेको हो ।
दुर्घटनापछि प्रहरीले तत्काल उद्धार गरी घाइतेहरूलाई उपचारका लागि भरतपुर र मुग्लिनका विभिन्न अस्पतालमा पठाएको छ । प्रहरीका अनुसार मौलाकालिका अस्पताल, भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेजमा १३ जना, नयाँ मेडिकल कलेजमा चार जना र जनता केयर अस्पताल, मुग्लिनमा छ जना घाइतेको उपचार भइरहेको छ ।
बस पल्टिएपछि केही समय अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड अहिले सञ्चालनमा आएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस