काठमाडौं । देश संघीयतामा गएपछि सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको छ । ७५३ पालिकाबाट नागरिकलाई सरकारी सेवा सुविधा लिन सहज भएको छ । तर जनप्रतिनिधि कतै पिर्कामाथि टेकेर, कतै टेबलमाथि उभिएर त कतै कुर्सीमाथि चढेर सलामी थापेर छोटे राजा बन्ने प्रवृत्ति पनि उत्तिकै मात्रामा बढेको छ। विकासको खर्च करोडौका सवारी साधनमै झ्वाम पारेको र विलासी जीवन बिताएका घटनाहरुले जनताको मतबाट जनताको काम गर्नको लागि चुनिएका जनप्रतिनिधिका जनता विरोधी कामले गर्दा जनतामा ब्यापक निराशा छाएको छ ।
जनताबाट उठेको कर आफ्नो सेवा सुविधामा उपयोग गरेर जनप्रतिनिधिहरु बदनाम भएको परिपेक्षमा एक सकारात्मक उदाहरण हुन् पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी । मेयर जिसीले २६ वर्ष पुरानो गाडी मर्मत गरेर प्रयोग गरिरहेका छन् । यो कदमले उनलाई देशकै नमूना मेयर भनेर समेत चिनाउन थालेको छ ।
‘हामीले लिने भनेको अस्थायी सुविधा हो, दीर्घकालीन सुविधामा हामी भुल्यौँ भने नागरिकका काम पनि भुल्नेछौँ र दिग्भ्रमित हुनेछौँ’
स्थानीय तहका जनप्रतिनिधि जनताको सेवा सुबिधा भन्दा पनि महङ्गो गाडी चढ्ने, आफ्नो तलब भत्ता बढाउने तर्फ ध्यान केन्द्रित गर्दा जनतामा निरासा बढीरहेका बेला देशकै दोश्रो ठूलो बजेट भएका पोखराका मेयर भने उदाहरणीय बनेका छन् ।
आर्थिक हिसाबले देशकै दोश्रो सम्पन्न महानगरपालिकाका मेयर किन यस्तो पुरानो गाडीमा भन्ने प्रश्नमा मेयर जिसी यस्तो जवाफ दिन्छन् । ‘यो लगभग २६ वर्ष अगाडिको गाडी हो, अहिले पनि हामीले यसलाई कन्डिसनमा राखेका छौँ । गाडीको काम भनेको शान दिनुभन्दा भनेको ठाउँमा पुर्याउनु हो । यसले त्यसको काम दिइराखेको छ । नागरिकको स्थिती हेर्ने हो भने हामी त्यस्तो सुविधाभोग गर्ने बेला भएको छैन जस्तो लाग्छ । पालिकाहरु सरकार भइसकेपछि नागरिकहरुलाई सरकारले दिने सुविधातिर जोड दिनुपर्ने हुन्छ र आफूले प्रयोग गर्ने स्रोत र साधनलाई सीमितताभित्र थन्क्याउनुपर्ने हुन्छ ।’ उनले अगाडि थपे, ‘हामीले लिने भनेको अस्थायी सुविधा हो, दीर्घकालीन सुविधामा हामी भुल्यौँ भने नागरिकका काम पनि भुल्नेछौँ र दिग्भ्रमित हुनेछौँ भन्ने मान्यताका साथ यही गाडीलाई प्रयोगमा ल्याएका हौँ ।’
स्थानीय तहको निर्वाचनको बेला कांग्रेस माआवादीको गठबन्धनलाई झण्डै १६ हजार मत अन्तरले हराउँदै लोकप्रिय मतका साथ बिजयी बनेका जिसि हरपल जनताको मन जित्न लागिपरेका छन् । विकटलाई निकट ल्याउने नारालाई सडक संजालले पूरा गर्ने उनको भनाइ छ ।
सडकलाई टिकाउ गराउन अमेरिकी नयाँ प्रबिधि भित्र्याएर सडक निर्माण गरिएको छ । खेल मैदान निर्माण, फेवाताल लगायत अन्य तालको जलाधार क्षेत्रको संरक्षणका लागि खहरे खोलामा सिल्ड्रेसन ड्याम जस्ता काममा आफूले ध्यान केन्द्रित गरेको मेयर जीसी बताउँछन् ।
जनप्रतिनिधि प्रतिबद्ध भए विकास निर्माणका काम गर्न कसैले रोक्न सक्दैन । यसकै उदाहरण बनेका पोखरा महानगरका मेयर जिसीबाट आफूले पनि धेरै कुरा सिकेको बताउँछिन् पोखरा महानगरपालिका वडा नम्बर १ की वडा अध्यक्ष शारदा पराजुली । ‘सकेसम्म हामीले मितव्ययिता अपनाएर, पुरानोलाई मर्मत गरेर काम गर्न सकिन्छ भने जनताको करलाई उपभोग गर्दा मितव्ययिता अपनाएर काम गर्नु पर्छ ।’ उनी भन्छिन् ।
अन्य स्थानीय निकायका जनप्रतिनिधिको जीवनसैलीभन्दा भिन्न सरल जीवनयापन तथा सदैब जनताको सेवामा खटिने मेयर पाएकोमा पोखराबासी दंग छन् । स्थानीय लक्ष्मीराज त्रिपाठी भन्छन्, ‘मानबहादुर जिसीसँग अभिलासीपन देखिँदैन । सुख दु:ख गरेर यो स्थानसम्म आइपुगेको भएर पनि हो कि जनताको सेवामा, विकाशमा समर्पित हुनुहुन्छ । तर लिनुपर्ने सुविधा पनि लिएको देखिँदैन ।’
पोखरा महानागपालिकाले आगामी आर्थिक वर्षको लागि साढे ६ अर्व को हाराहारीमा बजेट विनियोजन गरेको छ । वर्षेनी अर्बौंको बजेट निस्कासन गर्ने पोखरा महानगरपालिकाका मेयर जिसीले सामान्य जीवनयापन गरि जनसेवामा लाग्दा उदाहरण बनेका हुन् । उनको यो काम गराई र जीवनयापनको तरिकाबाट स्थानीय तथा अन्य निकायका जनप्रतिनिधिले पनि केही सिक्ने कि ?