काठमाडौैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट घटनालाई गम्भीर रुपमा लिइएको र पीडित परिवारलाई न्याय दिलाउन पार्टीले पहल गर्ने प्रतिबद्धता जनाएको छ ।
बिहीबार रौतहट क्षेत्र नम्बर २ का उम्मेदवार शेख सगिरले प्रयोग गर्ने गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएपछि घटनालाई रास्वपाले गम्भीरताका साथ लिएको बताएको हो ।
रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले शुक्रबार जारी गरको विज्ञप्तिमा भनिएको छ, ‘रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट ४ वर्षीया बालिकाको असामयिक निधन भएको खबरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अत्यन्तै स्तब्ध र मर्माहत भएको छ। यस कठिन र शोकको घडीमा मृतक बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछौं । पार्टीले यस घटनालाई अत्यन्त गम्भीरताका साथ लिएको छ। घटनाको वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न हामी प्रतिबद्ध छौं।’
रास्वपाले उम्मेदवारहरूलाई सवारीसाधन परिचालन गर्दा सुरक्षा संवेदनशीलतालाई प्राथमिकता दिन पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस