मंगलवार , फाल्गुण ५, २०८२
Shares
Shares
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कबिर शर्माले औपचारिक रूपमा घरदैलो अभियान सुरु गरेका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका शर्माले सिनामंगलस्थित ऐतिहासिक पञ्चकुमारी मन्दिरमा पूजा–अर्चना गर्दै चुनावी अभियानको सुरुआत गरेका हुन् ।

पार्टीको विशेष महाधिवेशनपछि कांग्रेसले अघि सारेका नयाँ अनुहारमध्ये शर्मा एक हुन् । सिनामंगल, कोटेश्वर र जडिबुटी क्षेत्रलाई समेटिएको काठमाडौँ–२ मा घरदैलो कार्यक्रमको क्रममा उनलाई स्थानीयहरूले भव्य स्वागत गरेका छन्। मतदाताहरूले विशेष गरी सुशासन, पूर्वाधार विकास र युवा बेरोजगारी अन्त्यका लागि नयाँ नेतृत्वको आवश्यकता रहेको बताएका छन् ।

शर्माले भने, “सिनामंगल क्षेत्रका आमाबुवा र दाजुभाइले देखाउनुभएको यो स्नेहले मलाई थप जिम्मेवार बनाएको छ । घर–घरमा पुग्दा तपाईँहरूको आँखामा देखिएको भरोसा नै मेरो जितको सबैभन्दा ठुलो आधार हो। यसपालि काठमाडौँ–२ ले योग्य र ऊर्जावान् युवा प्रतिनिधि पाउनेछ भन्नेमा म विश्वस्त छु ।”

अघिल्लो निर्वाचनमा अन्य दलले जितेको यस क्षेत्रमा कांग्रेसले क्षेत्रीय सभापति समेत रहेका शर्मालाई मैदानमा उतारेर आफ्नो विरासत फर्काउने रणनीति लिएको छ। घरदैलो कार्यक्रममा कांग्रेसका स्थानीय नेताहरू, तरुण दल र विद्यार्थी संघका कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

शर्माले सिनामंगलबाट सुरु गरेको अभियानलाई आगामी दिनमा थली, डाँछी र साँखु क्षेत्रसम्म पुर्याउने योजना बनाएका छन्। उनले “हाम्रो क्षेत्र, समृद्ध क्षेत्र” भन्ने नाराका साथ सबै मतदातालाई विकासको यो महाअभियानमा जोडिन अपिल गरेका छन् ।

लामो समयदेखि विकासका सवालमा ओझेलमा परेको भनिँदै आएको काठमाडौँ–२ मा कांग्रेसले स्पष्ट दृष्टिकोण र सन्तुलित छवि भएका उम्मेदवार अघि सारेको भन्दै मतदताहरुमा पनि उत्साह देखिएको छ ।

शर्माले स्थानीय जनताको आशा, भरोसा र परिवर्तनको चाहनालाई संसद्सम्म पुर्याउने गम्भीर जिम्मेवारीका रूपमा लिएको बताएका छन् । पछिल्ला वर्षहरूमा पूर्वाधार, व्यवस्थापन र राज्यको प्राथमिकताबाट पछि परेको काठमाडौँ–२ का समस्या समाधानलाई उनले आफ्नो प्रमुख एजेन्डा बनाएका छन् ।

शहरी क्षेत्र भए पनि काठमाडौँ–२ भित्र असमान विकास, सेवा–सुविधामा पहुँचको कमी र व्यवस्थापनसम्बन्धी समस्या विद्यमान छन् ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा युवाको भूमिका निर्णायक भए पनि नेतृत्व तहमा उनीहरूको उपस्थिति कमजोर रहँदै आएको सन्दर्भमा शर्मा आशालाग्दो युवा नेतृत्वका रूपमा देखिएका छन् । भूगर्भविद् शैक्षिक पृष्ठभूमि भएका शर्मासँग भूगोल, वातावरण र पूर्वाधार विकाससम्बन्धी प्राविधिक ज्ञान रहेको बताइन्छ, जसले शहरी समस्या समाधानमा वैज्ञानिक दृष्टिकोण दिन सक्ने अपेक्षा गरिएको छ ।

निषेध र टकरावको राजनीतिभन्दा सहकार्य, संवाद र समावेशी सोचमा विश्वास गर्ने शर्माको राजनीतिक धारणा वर्तमान अभ्यासभन्दा फरक देखिन्छ । ग्रासरुट तहमा सक्रिय रहँदै आएका उनी नेपाली कांग्रेसको क्षेत्रीय सभापतिका रूपमा संगठन विस्तार र जनसम्पर्कमा निरन्तर देखिँदै आएका छन् ।

शिक्षित पृष्ठभूमि, युवामैत्री सोच र सहकार्यमा आधारित राजनीतिक दृष्टिकोणका कारण काठमाडौँ–२ मा कबिर शर्माको उम्मेदवारीलाई समयसापेक्ष नेतृत्वको संकेतका रूपमा हेरिएको छ ।


Be the first to comment!
सम्पर्क : ०१- ४१०२६६४
समाचारको लागी इमेल :
[email protected]
विज्ञापनका लागि इमेल :
[email protected]
सुनौलो नेपाल अनलाइन प्रा. लि.
अनामनगर काठमाडौँ, नेपाल
सूचना विभाग दर्ता नम्बर: ५४३/०७४-७५
सम्पर्क : ०१- ४१०२६६४
विज्ञापनका लागि : ९८५१४२००७७, ९८५१४०३८९९
प्रतिक्रिया दिनुहोस