२०८३, श्रावण १० गते

आइतवार, श्रावण १० गते २०८३

नेकपा प्रमुख सचेतक दुलालको टिप्पणी : ‘एक्सप्रेस हाइवेमा लाइसेन्स नभएको चालकजस्तै सरकार चल्यो’

प्रदेश सरकार गठनदेखि कम्युनिस्ट एकता, बालेन नेतृत्वको सरकारको कार्यशैली र सुशासनसम्म युवराज दुलालले खुलेर राखे धारणा

आइतवार , श्रावण १०, २०८३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले वर्तमान सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै सरकारलाई “एक्सप्रेस हाइवेमा लाइसेन्स नभएको चालकले गाडी चलाएजस्तै” भएको टिप्पणी गरेका छन्।

उनले सुनौलो नेपालसँगको अन्तर्वार्तामा बोल्दै यस्तो बताएका हुन् । उनले सरकारले ठूला घोषणा गरे पनि परिणाम दिन नसकेको आरोप लगाए।

दुलालका अनुसार सरकारसँग योजना र सपना भए पनि त्यसलाई कार्यान्वयन गर्ने क्षमता नदेखिएको छ। “कहिले यता ठोक्किने, कहिले उता ठोक्किने, ब्रेक लगाउन पनि नजान्ने चालकजस्तो सरकार देखिएको छ,” उनले भने।

पूर्वप्रधानमन्त्री पक्राउ गरेर मुद्दा दर्ता गर्न नसकेको आरोप

उनले सरकारको सुशासन अभियानमाथि प्रश्न उठाउँदै शपथ लिएको २४ घण्टाभित्र पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई पक्राउ गरिए पनि चार महिना बित्दा समेत मुद्दा दर्ता गर्न नसकिएको बताए। प्रमाण नहुँदा पक्राउ गर्नु नै सरकारको नैतिक असफलता भएको उनको भनाइ थियो।

प्रदेश सरकार गठन ‘बाध्यता’, सत्ता लोभ होइन

प्रदेशमा एमालेसँगको सहकार्यबारे दुलालले स्पष्ट पार्दै यसलाई सत्ता लोभ नभई संवैधानिक बाध्यता भएको बताए। कांग्रेस–एमालेबीच सहमति हुन नसकेपछि प्रदेश सरकार विघटन र मध्यावधि निर्वाचन रोक्न नेकपाले जिम्मेवारीबोधका साथ सहकार्य गरेको उनको दाबी छ।

yubraj dulal nkpa neta (2).jpg

कम्युनिस्ट एकताको ढोका खुला

दुलालले दीर्घकालीन रूपमा नेपालमा एउटै कम्युनिस्ट पार्टी हुनुपर्ने धारणा दोहोर्याए। यद्यपि तत्काल पार्टी एकताको सम्भावना नरहेको र अहिलेको सहकार्यलाई चुनावी वा संगठनात्मक एकतासँग जोडेर हेर्न नहुने बताए।

संघीयतामाथिको आलोचना अस्वीकार

प्रदेश संरचनालाई कार्यकर्ता भर्ती गर्ने माध्यमका रूपमा चित्रण गर्ने प्रवृत्ति गलत भएको भन्दै उनले संघीयताले सातै प्रदेशमा स्रोत–साधनको सन्तुलित वितरण, जनप्रतिनिधिमार्फत कानुन निर्माण र स्थानीय विकासको अवसर सिर्जना गरेको दाबी गरे।

शिक्षा–स्वास्थ्यमा कर लगाउनु गलत

दुलालले शिक्षा र स्वास्थ्य मौलिक हक भएकाले त्यसमा कर लगाउनु संविधानको भावनाविपरीत भएको बताए। संसदमा त्यसको विरोध गरिएको र सरकारले स्पष्ट नीति लिन नसकेको आरोप पनि लगाए।

सरकारभित्रै मतभेद देखिएको दाबी

उनले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारभित्र नीति, निर्णय र नेतृत्वका विषयमा मतभेद देखिन थालेको दाबी गर्दै प्रधानमन्त्री र नेतृत्वबीच शक्ति संघर्षको संकेत देखिएको बताए। यद्यपि दुईतिहाइको सरकारले पाँच वर्ष टिकेर राम्रो काम गरोस् भन्ने आफ्नो चाहना रहेको पनि उनले उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट