विराटनगर । जिल्ला सहकारी संघ लिमिटेड मोरङद्वारा विराटनगरमा आयोजित एक दिवसीय “महिला सहकारी गोष्ठी, २०८२” सम्पन्न भएको छ । गोष्ठीमा सहभागी महिला सहकारीकर्मीहरुले सहकारी अभियानको प्रवद्र्धन, दिगोपन तथा सुशासनलाई मजबुत बनाउने लक्ष्यसहित “विराटनगर घोषणापत्र” जारी गरेका छन् ।
घोषणापत्रमार्फत सहकारीको मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै गुणस्तरीय सहकारी अभियान निर्माणमा प्रतिबद्धता जनाइएको छ । सहभागीहरुले सहकारी संस्थामा लैङ्गिक समानता कायम गर्दै महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने, नीतिगत तथा निर्णय तहमा महिलाको पहुँच बढाउने र क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने अठोट व्यक्त गरेका छन् ।
हाल सहकारी क्षेत्रप्रति फैलिएको नकारात्मक धारणा हटाउन सदस्य शिक्षा, तालिम तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी विश्वास आर्जन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । साथै, “मर्यादित सहकारी, समुन्नत समाज” भन्ने नारालाई व्यवहारमा उतार्ने प्रतिबद्धता समेत जनाइएको छ ।

घोषणापत्रमा सहकारीमा सुशासन कायम गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने, वैकल्पिक नेतृत्व विकास गर्ने र नेतृत्व हस्तान्तरणलाई सहज बनाउने विषयलाई प्राथमिकता दिइएको छ । त्यस्तै, महिलाको संख्यात्मक मात्र नभई गुणात्मक सहभागिता सबै सार्वजनिक निकायमा सुनिश्चित गर्न सरकारसँग माग गरिएको छ ।
सहकारी संस्थाको वित्तीय सुदृढीकरण, सदस्यहरुको आर्थिक क्षमता अभिवृद्धि तथा सहकारीको छवि संरक्षणमा जोड दिँदै भ्रामक गतिविधि नियन्त्रण गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन आग्रह गरिएको छ । समस्याग्रस्त सहकारीका बचतकर्तालाई भुक्तानी गर्न आवश्यक स्रोत व्यवस्थापन गर्न पनि सरकारसँग माग गरिएको छ ।
नेतृत्वमा महिलाको सहभागिता बढाउन जोड
कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राईल मन्सुरीले कोशी प्रदेश सरकारले महिला सशक्तीकरणका क्षेत्रमा निरन्तर काम गरिरहेको बताएका छन् । विराटनगरमा शुक्रबार आयोजित एकदिवसीय महिला सहकारीकर्मी गोष्ठी (तेस्रो श्रृंखला) को उद्घाटन सत्रमा बोल्दै उनले सहकारी क्षेत्रमा महिला सहभागिता बढेसँगै नेतृत्व तहमा पनि महिलाको उपस्थिति विस्तार हुँदै गएको उल्लेख गरे ।
मन्त्री मन्सुरीले महिला सहकारीकर्मीहरूको सशक्तीकरणका लागि प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सहकारी क्षेत्रमा आधाभन्दा बढी महिलाको सहभागिता रहेको अवस्थामा नेतृत्व तहमा अझ अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्ष रमेश पोखरेलले सहकारी क्षेत्रमा महिलाको सहभागिता अर्थपूर्ण र प्रभावकारी रहेको बताए । उनले महासंघले आगामी जेठ महिनामा महिला सहकारी सम्मेलन आयोजना गर्ने जानकारी दिँदै उक्त सम्मेलनमा महिलाहरूको योगदान र उपलब्धिबारे विस्तृत चर्चा गरिने बताए ।
पोखरेलले सहकारीमार्फत समाज रूपान्तरणमा महिला सहकारीकर्मीहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । सहकारीमा लैंगिक तथा जातीय विभेद नहुने, सामाजिक एकता कायम रहने बताउँदै उनले ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने मूल्यमान्यताका साथ सहकारी अभियान अघि बढिरहेको बताए । उनले सहकारी अभियानलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन महिला सहकारीकर्मीहरूको भूमिका निर्णायक रहेको पनि स्पष्ट पारे ।
त्यसैगरी, प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयका रजिष्ट्रार भुपेन्द्र खनालले सहकारी आन्दोलनमा महिलाको भूमिका पुरुषको तुलनामा बढी रहेको बताए । उनले आर्थिक सशक्तीकरण, गरिबी न्यूनीकरण, उद्यमशीलता विकास तथा सामुदायिक उन्नयनमा महिलाहरूको योगदान उल्लेखनीय रहेको बताए । सहकारीमा सदस्यताको हिसाबले पनि महिलाको संख्या पुरुषभन्दा बढी रहेको उल्लेख गर्दै उनले प्रश्न उठाए—आसनमा महिलाको उपस्थिति भए पनि के उनीहरू शासन र निर्णय प्रक्रियामा पर्याप्त रूपमा सहभागी छन् ?

खनालले सञ्चालक समितिमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने व्यवस्था भए पनि निर्णय तहमा उनीहरूको प्रभावकारी भूमिका कत्तिको छ भन्ने कुरा महत्वपूर्ण हुने बताए । उनले महिला विकासका क्षेत्रमा अझै चुनौतीहरू रहेको स्वीकार गर्दै सहकारी क्षेत्रको सुदृढीकरणमा महिलाको योगदान अत्यन्त महत्वपूर्ण रहेको निष्कर्ष प्रस्तुत गरे ।
गोष्ठी आयोजक समितिकी संयोजक हिमा मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लि.की पूर्व महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ्गले “लैंगिक समानता र सामाजिक रूपान्तरणमा सहकारी” विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिईन । त्यसैगरी सहकारी अभियन्ता लक्ष्मीप्रसाद उप्रेतीले “सहकारीमा महिला नेतृत्व र सुशासन” विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
गोष्ठिमा तीन सय भन्दा बढी महिला सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस