काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले रोजगारी प्रवृद्धनका क्षेत्रहरुलाई राज्यले प्राथमिकता दिनुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा नेपाल सुनचाँदी कला व्यवसायी संघको अधिवेशन उद्घाटन गर्दै नेपालले रोजगारी नपाएर मानिसहरू संसारमा भौतारिनुपर्ने अवस्था रहेको भन्दै स्वदेशमा नै रोजगारी प्रवृद्धनका क्षेत्रहरुलाई राज्यले प्राथमिकता दिनुपर्ने बताएका हुन् ।
उनले कुनै पनि व्यवसायमा प्रतिकूल असर नपरोस् भन्नका लागि विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए । उनले आफ्नै देशमा उत्पादन गर्न र उपभोग गर्दै विदेशमा निर्यात गर्न सके आयात केन्द्रित अर्थतन्त्र निर्यातमुखी हुने स्थिति बन्न सक्ने उल्लेख गरे । देशको अर्थतन्त्रको विस्तार र राजस्वमा बृद्धिका लागि सिङ्गो उद्योग व्यवसाय पनि फस्टाउनुपर्ने उनको भनाइ छ ।
उनले देशको उद्योग धन्दाहरू पनि फस्टाउन सके नागरिकहरु पनि आर्थिक रूपमा सवल हुने र क्रय शक्ति बढ्ने धारणा राखे ।
प्रतिक्रिया दिनुहोस