काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले आफ्ना मन्त्रीहरूको नाम टुंगो लगाएको छ ।
नयाँ मन्त्रिमण्डलमा गृह मन्त्रालयको जिम्मेवारी सुधन गुरुङले पाउने भएका छन्। जेन–जी आन्दोलनका बेला चर्चामा आएका गुरुङ गोरखा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
अर्थ मन्त्रालयमा उपसभापति स्वर्णिम वाग्ले नियुक्त हुने भएका छन् । उनले तनहुँबाट दुई पटक प्रतिनिधि सभा सदस्य निर्वाचित भइसकेका छन् र अर्थ मामिलामा अनुभव राख्छन् ।
परराष्ट्र मन्त्रीमा शिशिर खनाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा खडकराज पौडेल, श्रममन्त्रीमा दीपक साह, शिक्षा तथा प्रविधि मन्त्रीमा सस्मित पोखरेल र सूचना, सञ्चार तथा प्रविधि मन्त्रीमा बिक्रम तिमिल्सिना नियुक्त हुनेछन् ।
त्यस्तै, सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा विराजभक्त श्रेष्ठ, कृषि तथा सहकारी र वन मन्त्रालयमा गीता चौधरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा सोविता गौतम, महिला तथा बालबालिका मन्त्रीमा सिता बादी र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा सुनील लम्साल जिम्मेवारी सम्हाल्ने भएका छन् ।
रास्वपा स्रोतका अनुसार नयाँ मन्त्रिपरिषद्ले मुलुकको दीर्घकालीन विकास र जनमुखी नीति कार्यान्वयनमा प्राथमिकता दिने योजना बनाएको छ । मन्त्रीहरूको चयनमा अनुभव, निर्वाचन सफलता र मन्त्रालयसँगको सम्बन्धलाई ध्यानमा राखिएको बताइएको छ ।
नवनियुक्त मन्त्रीहरूले आजै शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ। शपथसँगै बालेन सरकार आफ्नो कार्यकालको औपचारिक सुरुवात गर्नेछ ।
प्रतिक्रिया दिनुहोस