काठमाडौँ - कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ अर्ब १७ करोड रुपैयाँ खुद नाफा कमाएको छ। उसले यस वर्षको नौ महिनामा कमाएको नाफा अघिल्लो वर्षको सोही अवधिको नाफासँग तुलना गर्दा १३६१.७६ प्रतिशतको वृद्धि हो।
अघिल्लो आर्थिक वर्ष २०८१÷८२ को नौ महिनामा कुमारी बैंकले २८ करोड ५८ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो।
यस वर्ष अत्याधिक नाफा देखिनुको कारण ‘लो बेस इफेक्ट’ हो। अघिल्लो वर्ष कुमारी बैंकको नाफा अत्यन्तै न्यून स्तरमा झरेको थियो, जसले गर्दा अहिलेको वृद्धि प्रतिशतमा अत्यधिक देखिएको हो।
चालु आर्थिक वर्षको नौ महिनाको अवधिका बैंकको मूल आम्दानी स्रोत भने सुधारिएको देखिन्छ। खुद ब्याज आम्दानी १७.८० प्रतिशतले बढेर ९ अर्ब ३० करोड पुगेको छ, जसले बैंकको कोर बैंकिङ गतिविधि सुदृढ हुँदै गएको संकेत दिन्छ।
त्यसैगरी, निक्षेप ३ खर्ब ६४ अर्बबाट बढेर ३ खर्ब ८१ अर्ब पुग्नु र कर्जा प्रवाह २ खर्ब ६० अर्बबाट २ खर्ब ७३ अर्ब पुग्नुले व्यवसाय विस्तार भइरहेको पुष्टि गर्छ। यद्यपि, यो विस्तार अझै मध्यम गतिमा मात्र रहेको देखिन्छ। अहिले अर्थतन्त्रमा कर्जाको माग अत्यन्त सुस्त रहेकाले अन्य बैंकको तुलनामा कुमारी बैंकले गरेको कर्जा विस्तारलाई स्वाभाविक मान्न सकिन्छ।
बैंकको अपरिस्कृत वित्तीय विवरण हेर्दा बैंकको खुद सञ्चालन आम्दानी ५ अर्ब ३२ करोडबाट बढेर ११ अर्ब २४ करोड र सञ्चालन मुनाफा ८५ करोड ८३ लाखबाट बढेर ६ अर्ब ५० करोड पुगेको छ । बैंकको गैर–ब्याज आम्दानी बढेका कारण नाफाको आकार ठूलो देखिएको छ।
बैंकले सम्भावित जोखिम व्यवस्थापनमा भने केही सतर्कता अपनाएको देखिन्छ। खराब कर्जा अनुपात ६.९८ प्रतिशतबाट घटेर ६.९४ प्रतिशतमा झरेको छ। तर, यो अनुपात अझै उच्च हो। अन्तिम त्रैमासमा बैंकले खराब कर्जा घटाउन ठूलो मेहनत गर्नुपर्ने देखिन्छ। अर्कोतर्फ, धितो गुणस्तरमा पनि उत्तिकै ध्यान दिनुपर्ने अवस्था छ।
अर्कोतर्फ, लेखांकन नाफा उल्लेख्य बढे पनि वितरणयोग्य मुनाफा अझै १ अर्ब ९८ करोड रुपैयाँले ऋणात्मक अवस्थामै छ। यसको अर्थ, सेयरधनीले तत्काल लाभांश पाउने सम्भावना कमजोर छ। यद्यपि, प्रतिसेयर आम्दानी (इपीएस) भने १.४५ रुपैयाँबाट बढेर २१.२४ रुपैयाँ पुगेको छ, जुन आकर्षक हो।
कुमारी बैंकको पछिल्लो वित्तीय नतिजाले ‘रिकभरी ट्रेन्ड’ देखाएको छ । नाफा तीव्र रूपमा सुधारिएको छ । यो सुधारलाई अन्तिम त्रैमासमा अझ व्यवस्थित बनाउन सक्दा मात्रै लगानीकर्ताले लाभांश पाउन सक्छन्।
अन्तिम त्रैमासमा खराब कर्जा घटाउने गति र वितरणयोग्य नाफा बढाउने क्षमताले नै बैंकलाई तथ्यांकीय रुपमा थप सफलतामा पु¥याउन सक्छ। बैंकको व्यवसायिक स्थायित्वको मजबुति निर्धारण गर्ने भनेकै कोर बैंकिङबाट आउने आम्दानीको स्थायित्वले हो।
प्रतिक्रिया दिनुहोस