काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जनताको हितमा समर्पित हुन वर्तमान सरकारलाई आग्रह गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा दलीय आधारमा धारणा राख्दै शाहीले पीडादायी घटनाका बाबजुद जनताको मतबाट स्थापित वर्तमान सरकार जनताको हितमा समर्पित हुन आग्रह गरेका हुन् ।
उनले जनताको आवाज सुन्ने, विधिको शासनमा आधारित, कानुनसम्मत तथा प्रजातान्त्रिक मूल्य–मान्यतामा अडिएको शासन सञ्चालन हुने विश्वास व्यक्त गरे ।
उनले अहिलेको सरकार केवल सत्ता सञ्चालन गर्ने संयन्त्र मात्र नभई जनताको आशा, भरोसा र भविष्यको दियो बन्न सक्नुपर्नेमा जोड दिए । उनले वर्तमान सरकारले सुशासनको मार्ग अवलम्बन गर्दै विगतका सबै भ्रष्टाचार काण्डहरूको फाइल खोल्नेमा आफु विश्वस्त रहेको बताए ।
सांसद शाहीले दलभन्दा देश ठुलो भएकाले सवै दलहरुले दलगत स्वार्थ त्यागेर सुशासन, विधिको शासन र प्रजातान्त्रिक अभ्यासका लागि एकढिक्का हुनुपर्ने समेत बताए ।
वर्तमान सरकारले प्रदेश संरचनाको खारेज गर्नेगरि संविधान संशोधन गर्ने उनको विश्वास छ । त्यसैगरि उनले राष्ट्रिय एकता, स्थायित्व र ऐतिहासिक निरन्तरताका लागि संवैधानिक राजसंस्थाको पुनस्र्थापनाबारे गम्भीर विमर्श आवश्यक रहेको समेत बताए ।
प्रतिक्रिया दिनुहोस