भक्तपुर। मध्यपुर थिमी नगरपालिका–स्थित कमलपोखरी यतिबेला गुलाबी कमलका फूलले ढकमक्क ढाकिएको छ । पोखरीभरि फुलेका कमलका फूलले यहाँ पुग्ने जो–कोहीलाई केहीबेर रोकिएर दृश्य नियाल्न बाध्य बनाइरहेका छन्।
बिहानको शीतल हावा र साँझको सुनौलो घामसँगै कमलपोखरीको सौन्दर्य झन् आकर्षक देखिन्छ । यही दृश्य हेर्न र क्यामेरामा कैद गर्न दैनिक सयौं मानिस यहाँ पुग्ने गरेका छन्। मर्निङ वाक र इभिनिङ वाक गर्नेहरूका लागि कमलपोखरी पछिल्लो समय नयाँ गन्तव्य बनेको छ ।
पोखरीसँगै रहेको ऐतिहासिक महालक्ष्मी मन्दिरमा दर्शन गर्ने भक्तजनहरू पनि कमलपोखरी पुगेर केहीबेर रमाउने गर्छन्। धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको संगमले यो क्षेत्रलाई अझ विशेष बनाएको स्थानीय बताउँछन् ।
कमलपोखरीभन्दा केही तल रहेको महालक्ष्मी मन्दिर आसपासको क्षेत्र पनि आकर्षक रूपमा व्यवस्थित गरिएको छ । सफा वातावरण, हरियाली र खुला परिसरका कारण यहाँ फोटोसुट, प्रि–वेडिङ छायांकन, म्युजिक भिडियो तथा फिल्म सुटिङसमेत हुन थालेका छन्।
सामाजिक सञ्जालका लागि आकर्षक तस्बिर र भिडियो बनाउन आउने युवायुवतीहरूको चहलपहल दिनहुँ देख्न सकिन्छ । विशेषगरी टिकटक, फेसबुक र इन्स्टाग्रामका लागि भिडियो बनाउनेहरूको यहाँ बाक्लै उपस्थिति रहने गरेको छ ।
प्राकृतिक सुन्दरता, धार्मिक महत्त्व र व्यवस्थित सार्वजनिक स्थलको संयोजनले कमलपोखरी क्षेत्र मध्यपुर थिमीको नयाँ आकर्षणका रूपमा स्थापित हुँदै गएको छ । वर्षायाममा कमल पूर्ण रूपमा फुल्ने यो समय यहाँको सौन्दर्य अवलोकन गर्ने उपयुक्त मौसम मानिन्छ ।
तस्विरहरुः प्रभात श्रेष्ठ
















प्रतिक्रिया दिनुहोस