विराटनगर । राष्ट्रिय सहकारी महासंघले सहकारी पुरस्कार २०८२ बाट सुनौलो नेपाल डटकमकी कोशी प्रदेश ब्युरो प्रमुख चीना थापालाई सम्मान गर्ने घोषणा गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभाग र राष्ट्रिय सहकारी महासंघको संयुक्त आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको पूर्वसन्ध्यामा बिहीबार विशेष समारोहका बीच महासंघका उपाध्यक्ष तथा पुरस्कार छनोट उपसमितिका संयोजक खेम बहादुर पाठकले विभिन्न विधामा पुरस्कृत हुने संस्था तथा व्यक्तित्वहरूको घोषणा गरेका हुन् ।
सहकारी पत्रकारिताको माध्यमबाट सहकारी अभियानको विकास र प्रवद्र्धनमा विशेष योगदान पुर्याएको भन्दै महासंघले थापालाई सम्मान गर्ने घोषणा गरेको हो । थापा एक दशकदेखि सहकारी पत्रकारितामा कृयाशिल छिन् ।
राष्ट्रिय सहकारी महासंघले राष्ट्रिय सहकारी पुरस्कार २०८२ बाट नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरेलाई सम्मान गर्ने घोषणा गरेको छ ।
उत्कृष्ट सहकारी पुरस्कारबाट झापा जिल्ला सहकारी संघलाई सम्मान गरिने भएको छ । सातै प्रदेशबाट उत्कृष्ट सहकारी छनोट गरिएको छ ।
जसअनुसारः कोशी प्रदेशबाट मेचीनगर साकोस, मधेश प्रदेशबाट महिला केन्द्र बहुउद्देश्यीय सहकारी संस्था, बर्दिबास, बागमती प्रदेशबाट महिला मिलन साकोस, मकवानपुर छनोट भएको छ ।
गण्डकी प्रदेशबाट मध्य नेपाल साकोस, नवलपरासी, लुम्बिनी प्रदेशबाट अष्टम साना किसान कृषि सहकारी, बाँके, सुदूरपश्चिम प्रदेशबाट जनकल्याण बहुउद्देश्यीय सहकारी, बाजुरा छनोट भएको पाठकले बताए ।
उत्कृष्ट सहकारी कर्मचारी पुरस्कारबाट जिल्ला बचत तथा ऋण सहकारी संघ रुपन्देहीकी व्यवस्थापक शर्मिला गौतम भट्टराई सम्मानित हुने भएकी छिन् । यी सबै पुरस्कारहरू अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रदान गरिने महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस