काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले संसदलाई प्रभावकारी र मर्यादित रुपमा अघि बढाउनका लागि अन्य दलहरुसँग छलफल सुरु गरिसकेको बताएका छन् ।
शुक्रबार संसद सचिवालय सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री बुर्लाकोटीले सदनलाई मर्यादित सञ्चालन गर्नुको लागि अरु पार्टीको पनि विश्वास प्राप्त हुनुपर्ने भएकाले रास्वपाले सवै पार्टीसँग छलफल सुरु गरिसकेको बताएका हुन् ।
त्यस्तै उनले संविधान संशोधनलाई सवै दलले प्राथमिकतामा राखेकाले यसमा छलफल गर्न प्रस्ताव समिति बनाइएको उल्लेख गरे । संविधान संशोधनको लागि छलफलका विषयवस्तुहरू प्रस्ताव भएपछि अन्य दलहरुसँग छलफल अघि बढाइने उनको भनाइ छ ।
महामन्त्री बुर्लाकोटीले प्रतिनिधिसभाको सभामुख चयनको प्रक्रिया अघि बढिरहेकाले सभामुख चयन भइसकेपछि उपसभामुख चयनको बिषयमा छलफल सुरु हुने धारणा राखे ।
प्रतिक्रिया दिनुहोस