काठमाडौं । चर्चित हास्य कलाकार सागर लम्साल (बले) बलात्कारको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई बूढानीलकण्ठ क्षेत्रबाट शनिबार नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ ।
अमेरिकामा बस्दै आएकी एक युवतीले शुक्रबार सामाजिक सञ्जालमार्फत बलेमाथि बलात्कारको गम्भीर आरोप लगाएकी थिइन् । पीडित युवतीका अनुसार, करिब एक वर्षअघि अमेरिका भ्रमणका क्रममा बलेले उनीमाथि आफ्नै अपार्टमेन्टमा जबर्जस्ती करणी गरेका थिए । १० वर्षदेखिको चिनजान र दाइ नाता पर्ने सम्बन्धको फाइदा उठाउँदै बलेले सो हर्कत गरेको युवतीको दाबी छ ।
यो प्रकरण सार्वजनिक भएलगत्तै चलचित्र पाँच पाण्डवबाट उनलाई निष्कासन गरिएको छ । निर्माण कम्पनी कालीरानी फिल्म्सले नैतिकताका आधारमा उनलाई हटाउने र उनले अभिनय गरेका ९० प्रतिशत दृश्यहरू रि–सुट गर्ने निर्णय गरेको छ । जघन्य अपराधको आरोप लागेका व्यक्ति हाम्रो टिमको हिस्सा हुन सक्दैनन्, निर्माण पक्षले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप सोधपुछ र अनुसन्धान अगाडि बढाएको छ । पीडित युवतीले ढिलै भए पनि आफूले न्याय पाउनुपर्ने र अरू कोही पनि यसरी शिकार नहोउन् भनेर घटना सार्वजनिक गरेको बताएकी छिन् । यस विषयमा कलाकार लम्सालको आधिकारिक धारणा भने अहिलेसम्म सार्वजनिक भएको छैन ।
प्रतिक्रिया दिनुहोस