काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा वैदेशिक रोजगारी र अन्य सिलसिलामा आउनेजाने यात्रुहरूलाई दुःख दिने बिचौलियाहरू विरुद्ध प्रहरीले कडा कदम चालेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले गएराति विमानस्थल वरपरबाट १८ जनालाई नियन्त्रणमा लिएको हो ।
परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार पक्राउ परेका व्यक्तिहरूले विमानस्थल बाहिर यात्रुहरूलाई जबरजस्ती तान्ने, प्रलोभनमा पारेर आफ्नो सम्पर्कको होटलमा लैजाने र होटल तथा यात्रु दुवैबाट मोटो कमिसन असुल्ने गरेका थिए । कतिपय अवस्थामा उनीहरूले यात्रुहरूसँग अभद्र व्यवहार समेत गर्ने गरेको प्रहरीको दाबी छ ।
विभिन्न जिल्लाबाट काठमाडौँ आएर विमानस्थलमा एजेन्टका रूपमा सक्रिय १८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जसमा सिन्धुलीका राजकुमार राई, सर्लाहीका सूर्य माझी, मकवानपुरका मंगलमान घलानसहित पाँचथर, मोरङ, धनुषा, सिराहा, महोत्तरी, रामेछाप र बझाङका व्यक्तिहरू रहेका छन् ।
विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा पर्यटक र सर्वसाधारणलाई सास्ती दिने जो–कोहीलाई कानुनी दायरामा ल्याइने एसपी भट्टराईले बताए । पक्राउ परेका १८ जनामाथि नै अभद्र व्यवहार वा अन्य सान्दर्भिक मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।
प्रतिक्रिया दिनुहोस