काठमाडौं । संघीय संसद् सञ्चालनमा राजनीतिक दलहरूबीच साझा सहमति जुटाउन र आगामी कार्यसूचीलाई अन्तिम रूप दिन आज बिहान ११ बजे सर्वदलीय बैठक बस्दैछ ।
संसद् सचिवालयले बोलाएको उक्त बैठकले सदनको कामकारबाहीलाई प्रभावकारी बनाउने र नियमावली मस्यौदा समिति गठन गर्ने विषयमा महत्त्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ ।
सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सर्वदलीय बैठकको निष्कर्षका आधारमा कार्यसूचीमा केही परिमार्जन समेत हुन सक्नेछ ।
आइतबार सर्वसम्मत रूपमा निर्वाचित भई पदभार ग्रहण गरेका सभामुख डोलप्रसाद (डीपी) अर्यालले आजदेखि प्रतिनिधिसभा बैठकको नेतृत्व गर्नेछन् । आजको बैठकमा कार्यव्यवस्था परामर्श समिति गठन गर्ने तयारी पनि गरिएको छ, जसमा २१ जनासम्म सदस्य रहने प्रस्ताव गरिएको छ।
संसद् विघटन र निर्वाचनका कारण लामो समयदेखि ओझेलमा परेका जनसरोकारका विषयहरूलाई आजदेखि सांसदहरूले ुशून्य समय र विशेष समय मार्फत उठाउन पाउनेछन् । सचिवालयले यी संसदीय अभ्यासहरू आजैबाट सुरु गर्न सकिने गरी सभामुखलाई ब्रिफिङ गरिसकेको छ ।
राष्ट्रियसभामा पनि आजै दिउँसो १२ः१५ बजे बैठक बस्दैछ । जसमा उपाध्यक्ष पदका लागि लिलाकुमारी भण्डारीलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस हुनेछ भने प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन बुझाउने कार्यसूची छ ।
प्रतिक्रिया दिनुहोस