काठमाडौं । आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार नयाँ कार्यालय समय लागू गरिएको हो ।
यसअघि सरकारी कार्यालयहरू बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म खुल्दै आएका थिए ।
सरकारले इन्धन खपत घटाउने उद्देश्यसहित नयाँ समय तालिका लागू गर्नुका साथै शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय समेत गरेको छ । सो निर्णय हिजो नै राजपत्रमा प्रकाशित भइसकेको छ ।
सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि सञ्चालन गर्ने अभ्यास यसअघि पनि गरिएको थियो । २०७९ साल जेठ १ गते शेरबहादुर देउवा नेतृत्वको सरकारले बिहान साढे ९ देखि बेलुकी साढे ५ बजेसम्म कार्यालय सञ्चालन गर्ने व्यवस्था लागू गरेको थियो ।
नयाँ समय तालिका लागू भएसँगै सेवाग्राहीलाई सहजता हुने र ऊर्जा खपतमा समेत कमी आउने सरकारको अपेक्षा छ ।
प्रतिक्रिया दिनुहोस