काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज विदेशी राजदूतहरूसँग सामूहिक छलफल गर्दैछन् । बालेन नेतृत्वको सरकार गठन भएपछि विभिन्न देशका राजदूतहरूसँग यसरी सामूहिक रूपमा छलफल हुन लागेको यो पहिलोपटक हो ।
मध्याह्न १२ बजेपछि प्रधानमन्त्री कार्यालयमा हुने यस छलफलमा भारत, चीन, अमेरिका, जापान र बेलायतसहित एक दर्जनभन्दा बढी देशका राजदूतहरूलाई आमन्त्रण गरिएको छ । बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालको पनि उपस्थिति रहनेछ ।
यसअघि प्रधानमन्त्री नियुक्त हुनासाथ राजदूतहरूलाई छुट्टाछुट्टै भेट्ने र कूटनीतिक मर्यादाविपरीत पहुँच दिने परम्परा रहेकोमा बालेनले त्यसलाई तोड्न लागेका हुन् । गत चैत १३ गते पदभार सम्हालेका शाहले हालसम्म व्यक्तिगत रूपमा कुनै पनि विदेशी प्रतिनिधिसँग भेट गरेका छैनन् ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहका अनुसार विगतमा राजदूतहरूको प्रधानमन्त्री निवास वा कार्यालयमा हुने अत्यधिक र सहज आवतजावतलाई निरुत्साहित गर्न यो कदम चालिएको हो । परराष्ट्र मन्त्रालयका अनुसार सरकारका प्राथमिकता र पछिल्लो राजनीतिक अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई एकमुष्ट जानकारी गराउनु यस छलफलको मुख्य उद्देश्य हो ।
प्रतिक्रिया दिनुहोस